काठमाडौं । अनन्या फिल्मस् प्रालिको ब्यानरमा नयाँ फिल्म ‘लोकल हिरो’ निर्माण हुने भएको छ । निर्माता सरोज न्यौपानेले फिल्मका लागि प्रमुख अभिनेताका रूपमा अरुण क्षेत्रीलाई अनुबन्ध गरेका छन् । दुई पक्षबीच हालै सम्झौता भएको हो ।
हाल हलमा प्रदर्शन भइरहेको ब्लकबस्टर फिल्म ‘गौथली’का अभिनेता क्षेत्रीले ‘लोकल हिरो’मा शीर्ष भूमिका निर्वाह गर्नेछन् । फिल्म निर्माणमा न्यौपानेलाई भविष्य खड्काले साथ दिनेछिन् ।
अघिल्लो वर्षको सुपरहिट फिल्म ‘जेरी अन टप’ निर्माण गरेको टिमले नै ‘लोकल हिरो’ निर्माण गर्न लागेको हो । फिल्मका अन्य कलाकार तथा प्राविधिक टोलीका विषयमा भने निर्माण पक्षले जानकारी सार्वजनिक गरेको छैन । अन्य कलाकार तथा टिमको घोषणा छिट्टै सञ्चारमाध्यममार्फत गरिने निर्माता न्यौपानेले बताए ।
‘लोकल हिरो’ले नेपाली समाजको स्थानीय कथा र मौलिक परिवेशलाई पर्दामा प्रस्तुत गर्नेछ । फिल्म केही वर्षअघि नै चलचित्र विकास बोर्डमा दर्ता भइसकेको जनाउँदै निर्माता न्यौपानेले अब निर्माणका लागि उपयुक्त समय आएको बताए । सोहीअनुसार क्षेत्रीलाई प्रमुख अभिनेताका रूपमा अनुबन्ध गरिएको उनको भनाइ छ ।
अनन्या फिल्मस् प्रालिको ब्यानरमा ‘लोकल हिरो’सँगै ‘जेरी : द लास्ट क्लाइम्ब’ र ‘टिका’ गरी तीन फिल्म निर्माणको पाइपलाइनमा छन् ।
News Filmy Newsportal / Nepal