‘ल्याङ्ग ल्याङ्ग’मा गुराँस ढकाल मुख्य अभिनेत्री

काठमाडौं । बलिराम चौहानको निर्देशनमा बन्ने फिल्म ‘ल्याङ्ग ल्याङ्ग’मा अभिनेत्री गुराँस ढकाल मुख्य भूमिकामा अनुबन्धित भएकी छन्। मुख्य भूमिकामा यो उनको डेब्यु फिल्म हो। यसअघि उनले केही फिल्ममा सहायक भूमिकामा अभिनय गरिसकेकी छन्।

गुराँसले अभिनेता सञ्जोग रसाइलीसँग एक्टर्स हबमा अभिनय सिकेकी हुन्। त्यहाँ उनले अभिनयका विभिन्न पक्षसँगै अभिव्यक्ति, प्रस्तुति र चरित्र निर्माणमा काम गरेकी थिइन्। अभिनय यात्राका क्रममा उनले विभिन्न विज्ञापन तथा म्युजिक भिडियोसँगै हरर फिल्म ‘मम्मी’मा पनि अभिनय गरेकी छन्।

बाल्यकालदेखि नै कलाकारिता र क्यामेराअगाडिको प्रस्तुतिप्रति आकर्षित गुराँसले आफ्नो रुचिलाई करियरमा रूपान्तरण गर्ने उद्देश्यले निरन्तर सिकाइ, प्रशिक्षण र मेहनत गर्दै आएकी छन्।

निर्देशक चौहानका अनुसार गुराँस फिल्ममा एक्ली अभिनेत्री हुन्। पात्रअनुसार भूमिका उपयुक्त देखिएपछि बुधबार उनलाई निर्माण टिमले फिल्ममा अनुबन्ध गरेको हो।

यसअघि नै फिल्मको मुख्य भूमिकामा रिहान गिरी, सन्तोष बानियाँ र जीवनजंग बस्न्यात अनुबन्धित भइसकेका छन्। निर्माण टिम अझै एक अभिनेताको खोजीमा छ। एक अभिनेता फाइनल भएसँगै मुख्य कलाकारको लाइनअप पूरा हुने निर्देशक चौहानले बताए।

स्काइफल पिक्चर्सको ब्यानरमा निर्माण हुने फिल्मले जेन्जी पुस्ताको प्रेम, संघर्ष र स्वतन्त्रताको कथा भन्नेछ। विशेषगरी युवापुस्ताको मनोविज्ञान र समसामयिक कथालाई पर्दामा उतार्ने तयारी रहेको निर्देशक चौहानले बताए।

कथाअनुसार फिल्मको स्लोगन पनि युवाकेन्द्रित ‘हरेक युवाको कथा’ राखिएको छ। नेपाली युवापुस्ताले साथीभाइबीच एउटै कुरामा हुने दबाब वा मानसिक तनावलाई बुझाउन ‘ल्याङ्ग ल्याङ्ग’ शब्द प्रयोग गर्ने गरेको निर्माण पक्षको भनाइ छ। फिल्मले यही युवा चरित्र र उनीहरूको दैनिक जीवनका उतारचढावलाई समेट्ने निर्देशक चौहानले बताए।

गुराँस मुख्य भूमिकामा अनुबन्धित भएपछि उनकी आमा रिना ढकालले सामाजिक सञ्जालमार्फत भावुक प्रतिक्रिया दिएकी छन्।

उनले छोरी सात महिनाको हुँदा नै आफूले उनलाई नाटकमा अभिनय गराएको उल्लेख गर्दै कलाकार बनाउने सपना बोकेको बताएकी छन्। उनले गुराँसको अभिनय यात्राको यो सुरुवात मात्र भएको र आगामी दिनमा आफ्नै मेहनत, प्रतिभा र लगनले छुट्टै पहिचान बनाउन सक्ने विश्वास व्यक्त गरेकी छन्।

फिल्म असोजको पहिलो साताबाट छायांकनमा जाने तयारीमा छ। भोलानाथ कटवालको लगानीमा निर्माण हुने फिल्मको हाल प्रि–प्रोडक्सनको काम भइरहेको छ। फिल्मको कथा निर्देशक चौहान र उपाश्री खतिवडाले लेखेका हुन्।

Leave a Reply