‘म मदनकृष्ण’मा वर्षा राउतको प्रवेश

काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक फिल्म ‘म मदनकृष्ण’मा अभिनेत्री वर्षा राउत अनुबन्धित भएकी छन्। निर्देशक मिलन चाम्सले निर्देशन गर्ने फिल्ममा वर्षाले हरिवंश आचार्यकी श्रीमती रमिला पाठकको भूमिका निर्वाह गर्नेछिन्।

हरिवंशको भूमिकामा अभिनेता अरुण क्षेत्री यसअघि नै अनुबन्धित भइसकेका छन्। अरुण र वर्षाले पहिलोपटक सँगै काम गर्न लागेका हुन्।

“हामीले अरुणको अपोजिटमा वर्षा राउतलाई लिएका छौँ। वर्षाले हरिवंश आचार्यकी श्रीमतीको भूमिका निर्वाह गर्नुहुनेछ,” निर्देशक चाम्सले भने।

चाम्सका अनुसार यसै टिमले निर्माण गर्ने हरिवंश आचार्यको बायोपिकमा पनि वर्षा रमिला पाठककै भूमिकामा देखिनेछिन्। हरिवंशको बायोपिकमा मुख्य भूमिकाका लागि अरुणले यसअघि नै सम्झौता गरिसकेका छन्।

वर्षाको केही समयअघि रिलिज भएको फिल्म ‘मालती मंगले’मा उनको अभिनयको प्रशंसा भएको थियो।

मदनकृष्ण श्रेष्ठको जीवनका विभिन्न पाटो, संघर्ष र आरोह–अवरोहलाई समेटेर फिल्म निर्माण हुँदैछ। फिल्मको निर्देशन मिलन चाम्सले गर्नेछन्। चाम्सले गत वर्ष राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक तथा कप्तान अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित फिल्म ‘अञ्जिला’ निर्देशन गरेका थिए।

‘म मदनकृष्ण’मा मदनकृष्ण श्रेष्ठको भूमिकामा अभिनेता महेश त्रिपाठी देखिनेछन्। अभिनेत्री केकी अधिकारीले मदनकृष्णकी श्रीमती यशोदाको भूमिका निर्वाह गर्नेछिन्।

फिल्ममा मदनकृष्णको बाल्यकाल, सरकारी जागिरे जीवन, हरिवंश आचार्यसँगको सहकार्य तथा अन्तरजातीय विवाहलगायतका प्रसंग समेटिने निर्माण पक्षले जनाएको छ। फिल्ममा राजाराम पौडेल, किरण केसी, रुषा न्यौपाने, यमन श्रेष्ठ र देशभक्त खनालको पनि अभिनय रहनेछ।

भिन्टेज मोसन पिक्चर्सको प्रस्तुतिमा बन्ने फिल्मका निर्माता राजकुमार श्रेष्ठ हुन्।

Leave a Reply