‘रोड टु एभरेस्ट’को टिजर सार्वजनिक

काठमाडौं । समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखर सगरमाथासम्मको जोखिमपूर्ण र रोमाञ्चक यात्रा समेटिएको वृत्तचित्र ‘रोड टु एभरेस्ट’को फर्स्ट लुक पोस्टर र अफिसियल टिजर सार्वजनिक गरिएको छ।

५० वर्ष नाघेका एक व्यक्तिले आफ्नै शारीरिक सीमितता र उमेरलाई चुनौती दिँदै सगरमाथा आरोहण गर्ने सपनालाई पछ्याएको प्रेरणादायी यात्रालाई ५० मिनेट लामो वृत्तचित्रमा प्रस्तुत गरिएको छ।

वृत्तचित्रले हिमालको सौन्दर्य र भव्यता मात्र होइन, आरोहणका क्रममा आइपर्ने प्राणघातक जोखिम, शेर्पा समुदायको अथक परिश्रम तथा जलवायु परिवर्तनले हिमाली वातावरणमा पारेको प्रभावलाई पनि समेटेको निर्माण पक्षले जनाएको छ।

निर्माण टिमका अनुसार वृत्तचित्र शतप्रतिशत नेपाली प्राविधिकको सीप प्रयोग गरेर तयार गरिएको हो। कुनै पनि कृत्रिम (आर्टिफिसियल) दृश्य प्रयोग नगरिएको दाबी गर्दै समुद्री सतहबाट सुरु भएर सगरमाथाको चुचुरोसम्मको यथार्थपरक यात्रा समेट्ने यो पहिलो नेपाली वृत्तचित्र भएको जनाएको छ।

सामाजिक संस्था ‘वि विल राइज फाउन्डेसन’ले निर्माण गरेको वृत्तचित्रलाई निर्मल श्रेष्ठले निर्देशन गरेका हुन्। दुई वर्षको अनुसन्धान र छायांकनपछि तयार भएको वृत्तचित्रको कथा निर्देशक श्रेष्ठ र सञ्चारकर्मी सन्तोष आचार्यले संयुक्त रूपमा लेखेका छन्। यसमा वरिष्ठ सञ्चारकर्मी भुषण दाहालको भ्वाइसओभर सुन्न सकिन्छ।

वृत्तचित्रमा १८ पटक सगरमाथा आरोहण गरिसकेका कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पा तथा विश्वका १४ वटै अग्ला हिमशिखर आरोहणसँगै १० पटक सगरमाथा चढेका निमा ग्याल्जेन शेर्पाको संघर्ष प्रस्तुत गरिएको छ। साथै विनोद गुरुङ, सुरज गुरुङ र निर्देशक श्रेष्ठ स्वयं पनि यात्राका महत्त्वपूर्ण पात्रका रूपमा देखिएका छन्।

नेपाली र अंग्रेजी दुवै भाषामा निर्माण गरिएको ‘रोड टु एभरेस्ट’ले नेपालको पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने लक्ष्य लिएको छ। वृत्तचित्रको नेपाल प्रिमियर आगामी भदौ ६ गते काठमाडौंमा हुनेछ भने अन्तर्राष्ट्रिय प्रिमियर भदौ २८ गते हङकङमा आयोजना गरिनेछ। त्यसपछि स्वदेश तथा विदेशका विभिन्न सिनेमा हल र अन्तर्राष्ट्रिय मञ्चमा प्रदर्शन गर्ने तयारी गरिएको छ।

सार्वजनिक पोस्टर र टिजरले भावनात्मक, जोखिमपूर्ण हिमाली यात्रा र मानव साहसको जीवन्त झलक प्रस्तुत गर्दै दर्शकमाझ उत्सुकता बढाएको छ।

Leave a Reply