‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’ सार्वजनिक

काठमाडौं । अभिनेता तथा निर्देशक माओत्से गुरुङ निर्देशित फिल्म ‘पेन्सन पट्टा’ को पहिलो गीत ‘जुनी जाला’ सार्वजनिक गरिएको छ। हरितालिका तीजको अवसर पारेर आगामी भदौ २६ गते प्रदर्शनमा आउने फिल्मको प्रचारस्वरूप निर्माण टिमले साउन ११ का अवसरमा गीत सार्वजनिक गरेको हो।

सार्वजनिक गीतको भिडियोमा दयाहाङ राई, बुद्धि तामाङ, विल्सन विक्रम राई, गौमाया गुरुङ र माओत्से गुरुङलगायत कलाकारको प्रस्तुति रहेको छ। गुरुङ समुदायको सांस्कृतिक परिवेश, मौलिक भेषभूषा र जीवनशैलीलाई कलात्मक रूपमा प्रस्तुत गरिएको गीतले दर्शकको ध्यान तान्ने अपेक्षा निर्माण टिमको छ।

गीतमा हर्क साउदको शब्द, मनोज थापा मगरको संगीत तथा सरुन गुरुङ, राजबहादुर गुरुङ, उषा गुरुङ र प्रिया गुरुङको स्वर रहेको छ। गीतको कोरियोग्राफी कमलबहादुर गुरुङले गरेका हुन्।

संगीत संयोजनमा सञ्जीव बराइलीको गितार, पोषण मगरको मादल, रत्न विश्वकर्माको बाँसुरी र मनीष गन्धर्वको सारङ्गी रहेको छ भने गीतको मिक्सिङ जन्रिक्सले गरेका छन्।

गीतले गुरुङ संस्कृतिअनुसारको मौलिक परिवेशमा प्रेम, समर्पण र जीवनभरको साथको भाव प्रस्तुत गरेको छ। साथै ग्रामीण जीवन, प्राकृतिक सौन्दर्य, पारिवारिक सम्बन्ध र पात्रहरूको जीवनयात्राको झलक पनि गीतमार्फत देखाइएको छ।

निर्देशक माओत्से गुरुङका अनुसार ‘पेन्सन पट्टा’ आशा, संघर्ष र मानवीय संवेदनामा आधारित कथा हो, जसले लक्ष्य प्राप्तिका लागि मानिसले गर्नुपर्ने संघर्षलाई चित्रण गर्छ।

फिल्ममा पुष्कर गुरुङ, पाशुपति राई, स्वर्गीय सुनिल थापा, सोल गुरुङ, मनोज गुरुङ, अनुशा राई, लुनिभा तुलाधरलगायत कलाकारको अभिनय रहेको छ।

माओत्से गुरुङ फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मको कथा तथा निर्देशन माओत्से गुरुङकै हो। फिल्ममा सुशन प्रजापतिको छायांकन, नेमिश श्रेष्ठ र केर डी. कोइच लिनुचको सम्पादन, राजेन्द्र मोक्तानको कलर ग्रेडिङ, उत्तम न्यौपानेको साउन्ड डिजाइन, नवीन श्रेष्ठको सिन्क साउन्ड, मनोज श्रेष्ठको भिएफएक्स तथा राजु याक्चाको कला निर्देशन रहेको छ।

फिल्मका निर्माता मिन कोन्मे गुरुङ (यूके), भोजबहादुर गुरुङ (यूके), माया गुरुङ (हङकङ) र सपना गुरुङ हुन् भने डी.बी. गुरुङ प्रोडक्सन म्यानेजर रहेका छन्। निर्माण टिमका अनुसार फिल्मका अन्य गीतमा शिव बराइली र सूरज तमुको शब्द तथा संगीत रहेको छ।

फिल्मको वितरण अधिकार आरआर फिल्म्सले लिएको छ। निर्माण टिमका अनुसार हङकङ, अष्ट्रेलिया, न्युजिल्यान्ड र बेलायतका लागि फिल्मको प्रदर्शन अधिकार बिक्री भइसकेको छ भने अन्य देशमा पनि प्रदर्शनबारे छलफल भइरहेको छ।

Leave a Reply