‘आशा’को छायांकन सुरु, माघ १ मा प्रदर्शन हुने

काठमाडौँ । उडान स्टुडियोको प्रस्तुतीमा बन्न लागेको नेपाली चलचित्र ‘आशा’ को छायांकन सुरु भएको छ। एक महिने तालिका बनाएर निर्माण टोली फ्लोरमा उत्रिएको हो। पहिलो दिनको छायांकन काठमाडौँ उपत्यकामा गरिएको छ।

निर्मात्री शर्मिला थापाका अनुसार केही दिन उपत्यकामा छायांकन गरेपछि चलचित्रको बाँकी भाग नमोबुद्ध र धुलिखेल आसपासका क्षेत्रमा खिचिनेछ।

‘हामी पूर्वनिर्धारित योजनाअनुसार छायांकनमा निस्किएका छौँ। साउन महिनाभित्र छायांकन सम्पन्न गर्ने लक्ष्य छ। नेपालीपन बोकेको कथालाई प्राविधिक रूपमा पनि उत्कृष्ट बनाएर दर्शकमाझ प्रस्तुत गर्ने प्रयास गरेका छौँ,’ उनले भनिन्।

छायांकनको पहिलो दिन अभिनेता शुशांक मैनाली तथा बालकलाकार चिराग श्रेष्ठ र काश्वी भण्डारीले अभिनय गरेका थिए।

चलचित्रमा शुशांकसँगै महेश त्रिपाठी, अञ्जना बराइली, सुशील सिटौला, आशान्त शर्मा, केनिपा सिंह, कविता रेग्मीलगायत कलाकारको अभिनय रहनेछ।

चलचित्रको निर्देशन राजीव गुरुङले गरिरहेका छन्। कथा पनि उनकै हो। गुरुङले चलचित्रले मनोरञ्जनसँगै सशक्त सामाजिक सन्देश दिने बताए।

‘यो कथालाई पर्दामार्फत दर्शक हुँदै परिवारसम्म पुर्‍याउनुपर्छ भन्ने उद्देश्यले चलचित्र बनाइरहेका छौँ। मन छुने पारिवारिक कथामा आधारित चलचित्र तयार हुँदैछ,’ उनले भने।

चलचित्रमा रामकुमार श्रेष्ठ सह–लेखक तथा मुख्य सहायक निर्देशकका रूपमा रहेका छन्। सुदाम सिके स्क्रिप्ट सुपरभाइजर तथा कास्टिङ निर्देशक, नरेन्द्र मैनाली सिनेमाटोग्राफर, युग भुसाल र समीर खरेल संगीतकार, किशोर आचार्य साउन्ड डिजाइनर, लोकेश बज्राचार्य सम्पादक तथा सोनाली शिल्पकार मेकअप तथा हेयर डिजाइनर छन्।

त्यस्तै, शान्ति तामाङ सहायक निर्देशक, अरुण रेग्मी प्रोडक्सन म्यानेजर, रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर, रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट) पब्लिसिटी डिजाइनर तथा करण श्रेष्ठ (रिच इन्टरटेनमेन्ट) वितरक रहेका छन्।

चलचित्र आगामी माघ १ गते, माघे सङ्क्रान्तिको अवसर पारेर प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ।

Leave a Reply