‘ककाकिकी’को पहिलो टिजर सार्वजनिक, १९ भदौदेखि प्रदर्शनमा आउने

काठमाडौं । टेलिभिजन कार्यक्रम ‘कमेडी दरबार’को निर्माणमा बनेको फिल्म ‘ककाकिकी’को पहिलो टिजर सार्वजनिक गरिएको छ। युट्युबमार्फत सार्वजनिक गरिएको टिजरले फिल्मको कथावस्तु र प्रमुख पात्रबारे प्रारम्भिक संकेत दिएको छ।

टिजरको सुरुआत केही गाउँले डाँडामा बसेर कुनै योजनाबारे छलफल गरिरहेको दृश्यबाट हुन्छ। संवादमार्फत फिल्मले व्यंग्यात्मक शैली अपनाएको संकेत दिन्छ। एक पात्र भन्छिन्, ‘गाउँका लागि यो काम गर्दा केही भइहाल्यो भने के हुन्छ होला है ?’ त्यसको जवाफमा अर्की पात्र भन्छिन्, ‘सालिक त बनाउलान् नि हरामीहरूले।’ लगत्तै अर्को पात्रको संवाद छ, ‘अब हामी नै मिस्त्री भएपछि कसले आएर बनाइदेला त सालिक ?’

टिजर सार्वजनिकसँगै फिल्मको प्रचारप्रसार औपचारिक रूपमा सुरु गरिएको निर्देशक बिक्की अग्रवालले जानकारी दिए। ‘हामीले राम्रो फिल्म बनाउने प्रयास गरेका छौं। अब त्यसको मूल्यांकन दर्शकले गर्नुहुनेछ,’ उनले भने।

अग्रवालले श्रद्धा प्रसाईंसँग सहकार्यमा फिल्म निर्देशन गरेका हुन्। फिल्ममा गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा, दीया मास्के, महेश त्रिपाठी, प्रकाश घिमिरे, शिशिर वाङ्देल, सुवास गजुरेल, रेअर राई, खड्गबहादुर पुनमगर र पवन खतिवडाको अभिनय छ।

यस्तै माओत्से गुरुङ, मनोज गजुरेल, मुकुन्द मैनाली, रामबाबु रेग्मी, सीडी विजय अधिकारी, सरोज भण्डारी, सृजना श्रेष्ठ, विश्वास तिमल्सिना, एलिसा भोग, सुवर्ण थापा र कमल देवकोटा पनि फिल्ममा देखिनेछन्।

फिल्मको पटकथा बिक्की अग्रवाल, सरोज भण्डारी र बिकास अर्यालले संयुक्त रूपमा लेखेका हुन्। श्रद्धा प्रसाईं र सुमित्रा थापा निर्माताका रूपमा रहेका फिल्म १९ भदौदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ।

Leave a Reply