तीजमा प्रदर्शनमा आउँदै ‘बेहुली’, पारस–दिव्याको पोस्टर सार्वजनिक

काठमाडौँ । आगामी हरितालिका तीजको अवसर पारेर नेपाली फिल्म ‘बेहुली’ भदौ २६ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ। प्रदर्शन मिति घोषणा गर्दै निर्माण टिमले आइतबार फिल्मको आधिकारिक पोस्टर सार्वजनिक गरेको हो।

‘द डिभाइन म्युजिक’ र ‘सम्मान इन्टरटेन्मेन्ट’को ब्यानरमा निर्माण भएको फिल्मको पोस्टरमा मुख्य कलाकार पारस बम ठकुरी र दिव्या रायमाझीलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ। पोस्टरमा पारसको हातमा हतकडी देखिन्छ भने बेहुलीको पहिरनमा सजिएकी दिव्या उनको छातीमा टाउको अडेसिएको अवस्थामा छन्। पोस्टरले प्रेम, सम्बन्ध र द्वन्द्वलाई केन्द्रमा राखिएको कथाको संकेत गर्छ।

पोस्टर सार्वजनिक कार्यक्रममा पारस र दिव्या पोस्टरकै शैलीमा उपस्थित भएका थिए। दिव्या बेहुलीको पहिरनमा थिइन् भने पारस हतकडीसहित मञ्चमा देखिएका थिए। फिल्ममा उनीहरूसँगै सुशान्त कार्कीको पनि मुख्य भूमिका छ।

‘होस्टेल ३’पछि पारस र निर्देशक सशान कँडेलको पुनः सहकार्य रहेको फिल्मको कथा माधव शर्माले लेखेका हुन्। निर्देशन सशान कँडेलले गरेका छन्। सुदीप कुँवर मुख्य सहायक निर्देशक तथा योगेन्द्र कार्की र मार्लोभ ढुङ्गाना सहायक निर्देशक हुन्।

फिल्ममा पारस, दिव्या र सुशान्तसँगै पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगरको अभिनय छ।

फिल्मका निर्माता प्रताप शमशेर राणा हुन्। शङ्कर कोइराला र रमेश सिलवाल कार्यकारी निर्माता तथा दुर्गा खरेल र शिशिर श्रेष्ठ सह–निर्माता हुन्। कोसिस राज क्षेत्री र सम्राट क्षेत्री लाइन प्रोड्युसर हुन्।

नरेन्द्र मैनालीको छायाङ्कन, विकास दाहालको सम्पादन, रोशन श्रेष्ठको एक्सन कोरियोग्राफी, किशोर नेपालको प्रोडक्सन डिजाइन, राजु वाइबाको मेकअप र एलेक्स बासुकलाको पहिरन डिजाइन रहेको फिल्ममा अर्जुन पोखरेलको संगीत छ।

फिल्मलाई काठमाडौं उपत्यकाभित्र काफिया फिल्म्स र उपत्यकाबाहिर श्री व्यंकटेश इन्टरटेन्मेन्टले वितरण गर्नेछन्। डिजिटल प्रदर्शन अधिकार ओएसआर डिजिटलले खरिद गरेको निर्माण पक्षले जनाएको छ।

Leave a Reply