काठमाडौं। नेपाल भाषाका चर्चित अनस्क्रिन जोडी मनोज महर्जन र नेरिशा महर्जन नयाँ प्रेमिल गीत ‘ज्यु ला मज्यु ला’ मार्फत पुनः दर्शकमाझ आएका छन्। नेपाल भाषाका लोकप्रिय गीतका म्युजिक भिडियोमा अभिनय गरेर दर्शकको मन जित्दै आएको यो जोडी यसपटक फरक परिवेश र पात्रमा प्रस्तुत भएको छ।
प्रेमभावले भरिएको गीतमा मनोज र नेरिशाको आकर्षक अभिनय देख्न सकिन्छ। उनीहरूको नयाँ प्रस्तुतिले नेपाल भाषा संगीतप्रेमीमाझ उत्सुकता बढाउने अपेक्षा गरिएको छ।
‘ज्यु ला मज्यु ला’ मा नरेश प्रधानको रचना रहेको छ भने भूपति राजोपाध्यायले शब्द संयोजन गरेका छन्। नेपाल आइडलका उत्कृष्ट १० प्रतियोगीमध्येका गायक राज सायमी मानन्धरको संगीत तथा स्वर रहेको गीतमा देवेन्द्र नेवाःले संगीत संयोजन गरेका छन्। गीतको रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ महेश्वर मान राजभण्डारीले गरेका हुन्।
म्युजिक भिडियोमा मनोज महर्जन फरक पात्रमा प्रस्तुत भएका छन् भने नेरिशा महर्जन मुख्य भूमिकामा छिन्। उनीहरूसँगै अन्य कलाकारको अभिनय पनि भिडियोमा समेटिएको छ।
भिडियोको निर्देशन, छायांकन तथा सम्पादन रजिन महर्जनले गरेका हुन्। स्टुडियो साउण्डमिलकी म्यानेजिङ डाइरेक्टर तथा गायिका बुनु श्रेष्ठले यस परियोजनाको प्रोजेक्ट डाइरेक्टरको जिम्मेवारी सम्हालेकी छन्। भिडियोमा आराध्या लक्ष्मी खड्गी र नितेश तन्डुकारले सहायक निर्देशन गरेका छन्।
गीतकार नरेश प्रधानले ‘आमा ` ,नभन मेरो भाग्य’, ‘साथ हुँदैमा पैसाको’, ‘आऊ साथी’ र ‘स्वीकार’ जस्ता गीतमार्फत आफ्नो सिर्जनात्मक पहिचान स्थापित गर्दै आएका छन्। मानवीय संवेदना, जीवनका यथार्थ र सामाजिक चेतनालाई अभिव्यक्त गर्ने गीत सिर्जनामा सक्रिय प्रधानको ‘युवा तिमीलाई सलाम छ’ गीतले पनि युवा पुस्ताको भावना र परिवर्तनको आकांक्षालाई समेटेको छ।
विभिन्न भाव र विषयवस्तुमा गीत सिर्जना गर्दै आएका प्रधानको रचनामा तयार भएको ‘ज्यु ला मज्यु ला’ उहाँको पहिलो नेपाल भाषा गीत हो। यस गीतमार्फत प्रधानले आफ्नो सिर्जनात्मक यात्रामा नयाँ भाषाको गीत थपेका छन्।
नेपाल भाषाका म्युजिक भिडियोमा लोकप्रियता कमाएको मनोज र नेरिशाको जोडीको नयाँ प्रस्तुति ‘ज्यु ला मज्यु ला’ ले दर्शकलाई फरक अनुभव दिने अपेक्षा गरिएको छ।
News Filmy Newsportal / Nepal