‘कबड्डी ५’को ट्रेलर सार्वजनिक, काजीको जीवनमा नयाँ ट्विस्ट

काठमाडौं । रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’को ट्रेलर सार्वजनिक भएको छ। निर्माण टिमले ललितपुरस्थित लबिम मलमा कार्यक्रम आयोजना गर्दै ट्रेलर सार्वजनिक गरेको हो।

ट्रेलरमा काजीको वैवाहिक जीवन, मैयासँगको सम्बन्ध र विपीन कार्कीको भूमिकालाई प्राथमिकताका साथ देखाइएको छ। बेरोजगारीबाट दिक्क भएका काजी, बीके र छन्त्यालले मुस्ताङमा ‘शान्ति होटल’ खोलेर नयाँ व्यवसाय सुरु गर्छन्। तर, व्यवसायसँगै कथाले नयाँ मोड लिन्छ। ट्रेलरमा सृजना गुरुङले निर्वाह गरेको नयाँ मैयासँग काजीको विवाह भएको देखाइएको छ।

काजीको टोली र गाउँमा प्रवेश गरेको विपीन कार्कीको रैथाने गुन्डा समूहबीचको टकरावले ट्रेलरमा द्वन्द्व र हास्यलाई सँगसँगै अघि बढाएको छ। ट्रेलरको अन्त्यतिर काजी र मैया एउटै गाडीमा कतै गइरहेको दृश्यले उनीहरूको सम्बन्धबारे थप जिज्ञासा पैदा गर्छ।

यसअघि सार्वजनिक टिजरमा काजी र मैयाको जीवनमा आउने नयाँ मोड, बीकेको प्रविधिसँगको रमाइलो सम्बन्ध र विपीन कार्कीको प्रवेशले दर्शकमाझ उत्सुकता बढाएको थियो। टिजरमा अभिनेत्री मिरुना मगरले निर्वाह गरेको शान्ति मिसको खोजीसमेत दर्शकले गरेका थिए। ट्रेलरमा मिरुनालाई पनि देखाइएको छ। यसले फिल्मको कथामा थप रहस्य र ट्विस्ट रहेको संकेत गर्छ।

‘कबड्डी’ शृङ्खलाका अघिल्ला चार फिल्मले बक्स अफिसमा सफलता पाएपछि पाँचौँ शृङ्खलालाई दर्शकले प्रतीक्षा गरिरहेका छन्। ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ कात्तिक ६ गतेदेखि प्रदर्शनमा आउने निर्माण टिमले जनाएको छ।

फिल्ममा दयाहाङ राई, विपीन कार्की, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, सृजना गुरुङ, पुष्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, मिरुना मगर, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, विष्णु मोक्तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजार, पञ्च सुब्बा गुरुङ, घनु जोशी, सुमित्रा पेहिम, अनुप न्यौपाने, मधु मिजार, हेमन्त बुढाथोकी, विक्रम श्रेष्ठ, सरोज अर्याल र शेखर चापागाईंको अभिनय छ।

बासुरी फिल्म्सको प्रस्तुतिमा बनेको फिल्ममा निर्देशक गुरुङ, मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी)को लगानी छ। सागर राज कार्यकारी निर्माता रहेको फिल्ममा कालीप्रसाद बास्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत, सञ्जय लामाको छायांकन तथा सुरेन्द्र पौडेलको सम्पादन छ।

फिल्मका मुख्य सहायक निर्देशक सोमनाथ खनाल र तारानाथ न्यौपाने हुन्। नेपालमा ब्यांकटेश इन्टरटेनमेन्ट र टी फल्कले वितरण गर्ने फिल्मको अन्तर्राष्ट्रिय वितरणको जिम्मा सेभेन सिज इन्टरनेसनलले लिएको छ।

Leave a Reply