‘अक्षरा’को दोस्रो पोस्टर सार्वजनिक, भदौ २६ देखि प्रदर्शनमा

काठमाडौँ । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउने नेपाली फिल्म ‘अक्षरा’ को दोस्रो आधिकारिक पोस्टर सार्वजनिक गरिएको छ।

निर्माता सुग्रसेन ढुङ्गानाको जन्मदिनको अवसर पारेर सोमबार पोस्टर सार्वजनिक गरिएको हो। प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्मको प्रचारप्रसारलाई तीव्र बनाउने उद्देश्यले नयाँ पोस्टर सार्वजनिक गरिएको निर्माण पक्षले जनाएको छ।

सार्वजनिक पोस्टरमा मुख्य कलाकार सुशील सिटौला र न्यान्सी खड्कालाई शीर्ष भूमिकामा प्रस्तुत गरिएको छ। उनीहरू विपरीत दिशातर्फ फर्किएको र गम्भीर भावमा देखिएकाले कथामा सम्बन्ध, द्वन्द्व र भावनात्मक उतारचढावको संकेत मिल्छ। पृष्ठभूमिमा देखिएको भीडले सामाजिक परिवेश पनि कथाको महत्वपूर्ण पक्ष रहेको आभास दिन्छ।

क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको फिल्ममा सुशील सिटौला, न्यान्सी खड्का, सुशील पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी र सृष्टि खड्काको अभिनय छ। बालकलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुङ्गाना पनि छन्।

सोनी थापा (ढुङ्गाना)को प्रस्तुति रहेको फिल्मका निर्देशक विनय राज पौडेल हुन्। उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना निर्माता तथा सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने कार्यकारी निर्माता हुन्।

फिल्मको कथा उग्रसेन ढुङ्गानाले लेखेका हुन् भने पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलले संयुक्त रूपमा तयार पारेका छन्। दिपेन बस्न्यातको छायाङ्कन, रामजी लामिछानेको कोरियोग्राफी र शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको फिल्मलाई नेशनल सिने ग्रुप नेपालमार्फत दीपक दंगालले वितरण गर्नेछ। फिल्म भदौ २६ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।

Leave a Reply