काठमाडौं । आगामी साउन २९ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘लज्जावती’की मुख्य अभिनेत्री मेनुका माझी यतिबेला फिल्मको प्रचारप्रसारसँगै ‘फेस अफ नेपाल–२०२६’ को तेस्रो संस्करणलाई अघि बढाउन व्यस्त छिन्।
प्रतियोगिताकी राष्ट्रिय निर्देशकसमेत रहेकी मेनुकाले अभिनयसँगै नयाँ प्रतिभाको खोजी र उनीहरूको क्षमता विकासमा सक्रिय भूमिका निर्वाह गरिरहेकी छन्।
एमएस प्रोडक्सन प्रालिले बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा ‘फेस अफ नेपाल–२०२६’का लागि आवेदन खुला भएको घोषणा गरेको हो।
प्रतियोगितामा नेपालभरका १७ देखि ३० वर्ष उमेर समूहका महिला तथा पुरुषले सहभागिता जनाउन सक्नेछन्। इच्छुकले फेस अफ नेपालको आधिकारिक सामाजिक सञ्जाल पेज वा आधिकारिक भोटिङ पार्टनर एभेन्टोज (Aventoz) मार्फत आवेदन दिन सक्नेछन्।
आवेदन दर्ताका लागि एक हजार रुपैयाँ शुल्क तोकिएको छ भने छनोट भएका प्रतियोगीले १५ हजार रुपैयाँ सहभागिता शुल्क बुझाउनुपर्ने आयोजकले जनाएको छ।
आयोजकका अनुसार प्रतियोगिता विभिन्न चरणमा सञ्चालन हुनेछ। प्रतियोगीको आत्मविश्वास, व्यक्तित्व, प्रतिभा, सिर्जनशीलता र मोडलिङ क्षमताको मूल्यांकन गरिनेछ। साथै फिटनेस, व्यक्तित्व विकास, ग्रुमिङ, व्यावसायिक स्टाइलिङ, मोडलिङ तथा स्टेज प्रस्तुति सम्बन्धी तालिम पनि प्रदान गरिनेछ।
पहिलो चरणको अडिसन जुलाई ११ (असार २७) मा हुनेछ। त्यसपछि प्रशिक्षण तथा प्रतियोगिताका अन्य चरणबारे जानकारी आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिने आयोजकले जनाएको छ।
प्रतियोगिताका विजेताले दक्षिण कोरियामा आयोजना हुने प्रतिष्ठित एसिया मोडल फेस्टिभलमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन्। साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मोडलिङ र फेसन क्षेत्रमा व्यावसायिक यात्रा अघि बढाउने अवसरसमेत प्राप्त गर्नेछन्।
राष्ट्रिय निर्देशक मेनुका माझीले ‘फेस अफ नेपाल’ नेपाली युवाका लागि अन्तर्राष्ट्रिय मोडलिङ क्षेत्रमा आफ्नो क्षमता प्रदर्शन गर्ने महत्त्वपूर्ण मञ्च भएको बताइन्। उनका अनुसार प्रतियोगितामा आत्मविश्वास, व्यक्तित्व र प्रतिभालाई प्राथमिकता दिइने भएकाले सहभागिताका लागि कुनै उचाइको मापदण्ड राखिएको छैन।
उनले नयाँ पुस्ताका प्रतिभालाई विश्व मञ्चसम्म पुर्याउने उद्देश्यले प्रतियोगिता सञ्चालन हुँदै आएको उल्लेख गर्दै मोडलिङ क्षेत्रमा भविष्य बनाउन चाहने युवायुवतीलाई आवेदन दिन आग्रह गरिन्।
प्रतियोगिताको ग्रान्ड फिनाले भदौ १४ (३० अगस्ट २०२६) मा काठमाडौंस्थित रोयल टुलिप होटलमा हुनेछ। कार्यक्रममा फेसन तथा मनोरञ्जन क्षेत्रका चर्चित व्यक्तित्वहरूको सहभागिता रहने आयोजकले जनाएको छ।
‘फेस अफ नेपाल–२०२६’ दक्षिण कोरियाको प्रतिष्ठित एसिया मोडल फेस्टिभलको नेपालको आधिकारिक फ्रेन्चाइज प्रतियोगिता हो।
News Filmy Newsportal / Nepal