गायक पशुपति शर्माको फिल्म अभिनयमा डेब्यू, ‘तीन तिघ्रे, क्या बिग्रे’मा अनुबन्धित

काठमाडौं । लोक तथा दोहोरी संगीतका चर्चित गायक पशुपति शर्मा फिल्म अभिनयमा डेब्यू गर्ने भएका छन् । रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको कथानक फिल्म ‘तीन तिघ्रे, क्या बिग्रे’मा उनी अनुबन्धित भएका हुन् ।

निर्माण टिमका अनुसार शर्मा केही महिनाअघि नै फिल्ममा आबद्ध भए पनि बिहीबार मात्रै उनको कास्टिङबारे औपचारिक घोषणा गरिएको हो । अमरदीप सापकोटाको पटकथा तथा निर्देशन रहने फिल्मको छायांकन असार दोस्रो सातादेखि सुरु हुने जनाइएको छ ।

निर्माता रघुनाथ सापकोटाले नेपाली फिल्म क्षेत्रमा नयाँपन ल्याउने उद्देश्यसहित पशुपति शर्मालाई फिल्ममा अनुबन्ध गरिएको बताए । उनले पछिल्लो समय सीमित कलाकार र एकै प्रकारका कथावस्तुको वर्चस्व रहेको अवस्थामा शर्माको आगमनले नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरे ।

फिल्मको शीर्षकले हास्यप्रधान कथावस्तुको संकेत गरे पनि निर्माण पक्षले कथाबारे विस्तृत जानकारी सार्वजनिक गरेको छैन ।

यद्यपि, फिल्म अभिनयमा यो पशुपति शर्माको पहिलो यात्रा भए पनि फिल्म गायनमा भने उनी यसअघि नै परिचित छन् । उनले फिल्म ‘प्रेमगीत’को लोकप्रिय गीत ‘यता तिर्खा लागेको’मार्फत प्लेब्याक गायनमा डेब्यू गरेका थिए ।

पशुपति शर्माका गीतहरूले प्रेम, परिवार, वैदेशिक रोजगारी, सामाजिक विकृति, राजनीति, राष्ट्रियता र ग्रामीण जीवनका विविध विषयलाई समेट्दै आएका छन् । ‘लुट्न सके लुट’, ‘छाता हरायो’, ‘मलाई अमेरिका यही’ र ‘बोल माया’ जस्ता गीतबाट उनले व्यापक लोकप्रियता हासिल गरेका छन् ।

विशेषगरी ‘लुट्न सके लुट’ गीतले भ्रष्टाचार र सामाजिक बेथितिविरुद्ध व्यंग्यात्मक सन्देश प्रस्तुत गर्दै ठूलो चर्चा बटुलेको थियो ।

Leave a Reply