छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव सुरु

काठमाडौं । छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव सुरु भएको छ । चलचित्र विकास बोर्डको हलमा सुरु भएको तीनदिने महोत्सवमा आदिवासी जनजाति समुदायका भाषा, संस्कृति, परम्परा, इतिहास तथा सांस्कृतिक पहिचान झल्काउने कथानक फिल्म, लघु फिल्म, वृत्तचित्र र एआई–निर्मित वृत्तचित्र प्रदर्शन गरिने आयोजकले जनाएको छ ।

महोत्सव निर्देशक सागर केरुङका अनुसार आदिवासी जनजाति समुदायका मौलिक कथा, जीवनशैली र सांस्कृतिक विविधता समेटिएका चलचित्रहरू महोत्सवमा प्रदर्शन गरिनेछन् । महोत्सवले आदिवासी जनजाति समुदायको कला, संस्कार र पहिचानलाई चलचित्रमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ ।

आदिवासी जनजाति चलचित्र महासंघका कार्यवाहक अध्यक्ष भुइसल लामाले समुदायका भाषा, संस्कृति र इतिहासको संरक्षण तथा प्रवर्द्धनका लागि महोत्सव प्रभावकारी माध्यम बनेको बताए ।

महोत्सवमा ‘पीत’, ‘स्वयम्भू’, ‘डोल्प्पो राम्रानी’, ‘ह्याङ तानाछ’ र ‘दिलसरा’ लगायतका कथानक फिल्म प्रदर्शन गरिनेछन् । साथै उत्कृष्ट चलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री, पटकथा तथा वृत्तचित्र विधामा पुरस्कार प्रदान गरिने जनाइएको छ ।

महोत्सवको उद्घाटन गर्दै चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी ले यस्ता महोत्सवले मौलिक संस्कृति उजागर गर्न र सांस्कृतिक पहिचान प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुर्‍याउने धारणा व्यक्त गरे ।

 

Leave a Reply