काठमाडौं । जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको बहुप्रतिक्षित फिल्म ‘मितज्यू’को आधिकारिक ट्रेलर सार्वजनिक गरिएको छ। सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत निर्माण टिमले फिल्मको ट्रेलर सार्वजनिक गरेको हो।
सार्वजनिक ट्रेलरले नेपाली समाजको पुरानो मौलिक परम्परा ‘मितेरी साइनो’ र ग्रामीण परिवेशको कथालाई मुख्य विषयवस्तु बनाएको छ। फिल्ममा अभिनेता दयाहाङ राई र सौगात मल्ल गाउँमा भित्रिएको नयाँ बाटोमा गाडी चलाउने चालकको भूमिकामा देखिएका छन्।
उनीहरूबीचको मित्रता, यात्रु छिटो गन्तव्यमा पुर्याउने प्रतिस्पर्धा र सम्बन्धमा आउने उतारचढावलाई ट्रेलरमा रोचक ढंगले प्रस्तुत गरिएको छ।यसै फिल्ममार्फत चर्चित बाल कलाकार तथा नृत्याङ्गना तेरिया फौजा मगरले अभिनेत्रीका रूपमा डेब्यु गरेकी छन्। ट्रेलरमा उनको संवाद र ग्रामीण लवजलाई विशेष प्राथमिकता दिइएको छ।
फिल्ममा पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा लगायत कलाकारहरूको पनि अभिनय रहेको छ। अनिल बुढा मगरको निर्देशनमा बनेको फिल्मलाई जनक घर्ती मगरले निर्माण गरेका हुन्।
लोकेश बज्राचार्यको सम्पादन, शिशिर बिशंखेको छायांकन तथा श्रीकृष्ण बम मल्लको संगीत रहेको फिल्म आगामी जेठ ८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ। निर्माण पक्षका अनुसार फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार हङकङ, जापान, दक्षिण कोरिया, माल्टा, सिंगापुर र पोल्याण्डमा प्रदर्शनअघि नै बिक्री भइसकेको छ।
फिल्मको डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ भने आरआर फिल्म्सले देशभर वितरण गर्ने जिम्मेवारी लिएको छ ।
News Filmy Newsportal / Nepal