काठमाडौं। साहारा शर्माको डेब्यु निर्देशनमा निर्माण भएको फिल्म ‘एक मुठ्ठी बादल’को नयाँ गीत ‘पल्लो घर’ सार्वजनिक गरिएको छ। शुक्रबार सार्वजनिक गरिएको गीतमा श्रेया राईको शब्द, संगीत तथा स्वर रहेको छ।
सार्वजनिक गीतको भिडियोमा फिल्मकी मुख्य अभिनेत्री आँचल शर्मालाई प्रस्तुत गरिएको छ। घरमा विवाहको तयारी चलिरहेका बेला एक युवतीको मनमा चल्ने अनेकौँ स्मृतिलाई भिडियोमा चित्रण गरिएको छ। विशेषगरी विवाहको तयारीमा रहेकी युवतीले घरसँग जोडिएका पुराना सम्झनालाई सम्झिरहेको अनुभूति गीतका शब्दले गराउँछन्।
फिल्ममा आँचल शर्मा, निशा शर्मा, उषा रजक, भिमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ, मनिष निरौला, सहयोग अधिकारी, गौरव विष्ट, अविरलप्रताप अधिकारी लगायत कलाकारहरूको अभिनय रहेको छ।
फिल्मलाई अभिमन्यु दीक्षितले निर्माण गरेका हुन् भने निकुन श्रेष्ठ कार्यकारी निर्माताको रूपमा रहेका छन्। निर्माण टोलीमा जर्मन निर्माता सारा फाजिलात, सामीप्य राज तिमल्सेना र अनुप पौडेल रहेका छन्।
फिल्ममा लिन्ह डान गुयेन फानको छायांकन, यशस्वी सभरवालको प्रोडक्सन डिजाइन, गौरव मल्लिकको सम्पादन, अग्रणी ठकुरी झाको कला निर्देशन, जानकी कडायतको भेषभूषा डिजाइन तथा कीर्ति जोशीको मेकअप रहेको छ।
फिल्ममा मर्णा जेम्सले प्रमुख सहायक निर्देशकको रूपमा काम गरेकी छिन् भने उनलाई शर्मिला आले र मीरा खड्काले सहयोग गरेका छन्।
फिल्मका लगभग सबै विधामा महिलाको नेतृत्व रहेको यस फिल्मलाई गौंथली इन्टरटेनमेन्ट र मन प्रोडक्सनले संयुक्त रूपमा निर्माण गरेका हुन्। नेपालमा फिल्मलाई आरआर फिल्म्सले वितरण गर्नेछ।
News Filmy Newsportal / Nepal