घनश्याम लामिछानेको निर्देशनमा ‘तिमी मेरो म तिम्रो’ निर्माण घोषणा

काठमाडौं । निर्देशक घनश्याम लामिछानेले नयाँ फिल्म ‘तिमी मेरो म तिम्रो’ निर्देशन गर्ने घोषणा गरेका छन् । सन्तोष अधिकारी फिल्म्सको ब्यानरमा निर्माण हुने यस फिल्मको औपचारिक घोषणा शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममार्फत गरिएको हो ।

निर्देशक लामिछानेका अनुसार फिल्म प्रेमकथामा आधारित हुनेछ । नेपाली फिल्म क्षेत्रमा प्रेमकथामा आधारित फिल्मको संख्या न्यून रहेको उल्लेख गर्दै उनले दर्शकले रुचाउने कथावस्तु प्रस्तुत गर्ने उद्देश्य राखिएको बताए ।

फिल्ममा भुवन केसी, अर्जुनजंग शाही, जितु नेपाल, सन्तोष अधिकारी, रियान गिरी र नवअभिनेत्री प्रतिमा थापालगायत कलाकारको अभिनय रहनेछ । फिल्मको संगीत युग भुसालले तयार पार्नेछन् ।

आस्प इन्टरटेनमेन्ट अस्ट्रेलियाको निर्माण रहने फिल्ममा राज श्रेष्ठ र आशिस थापा मगर सह–निर्माताका रूपमा रहेका छन् । सन्तोष अधिकारी कार्यकारी निर्माता हुन् भने तेजविक्रम केसी लाइन प्रोड्युसरका रूपमा आबद्ध छन् ।

Leave a Reply