एक्सन–ड्रामामा ‘कुम्भ’को टिजर सार्वजनिक, जेठ १५ मा प्रदर्शन हुने

काठमाडौं । डेब्यु अभिनेता अशोक आर्यन अभिनित फिल्म ‘कुम्भ’को एक्सन–प्याक्ड टिजर सार्वजनिक गरिएको छ । एक्सन–ड्रामामा आधारित यो फिल्म आगामी जेठ १५ गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा छ ।

टिजर सार्वजनिक भएसँगै फिल्मप्रति दर्शकमाझ उत्सुकता बढेको छ । टिजरले फिल्मको डार्क, इन्टेन्स तथा एक्सन–ड्रिभेन टोन स्पष्ट रूपमा झल्काएको छ । ब्याकग्राउन्ड म्युजिक, सिनेम्याटोग्राफी र पात्रहरूको प्रस्तुतीले फिल्म ठूलो क्यानभासमा निर्माण गरिएको संकेत गर्छ ।

फिल्ममा अशोक आर्यन मुख्य भूमिकामा छन् । उनका साथमा सुनिल थापा, सुशील पोखरेल, रोहित रुम्बा, सृष्टि खड्का र अफ्सना थापालगायत कलाकारको अभिनय रहेको छ । साथै, दक्षिण भारतीय अभिनेता सुरेन्द्र ठाकुरको उपस्थितिले फिल्मलाई थप व्यापक दर्शकमाझ पुर्‍याउने अपेक्षा गरिएको छ ।

फिल्मका लेखक तथा निर्देशक रणधीर श्रेष्ठ हुन् । उनले गीतका शब्दसमेत लेखेका छन् भने संगीत अनुप तिवारीले दिएका छन् । ए रस प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म नेपाली र हिन्दी भाषामा प्रदर्शन गरिनेछ । फिल्मको छायांकन नेपाल र दक्षिण भारतका विभिन्न स्थानमा गरिएको हो ।

यसअघि सार्वजनिक गीत ‘स्वर्गकी परी’ले पनि राम्रो चर्चा बटुलिसकेको छ । गीतमा अञ्जु पन्त र अनुप तिवारीको स्वर रहेको छ । भिडियोमा अशोक आर्यन र सृष्टि खड्काबीचको केमेस्ट्री प्रस्तुत गरिएको छ, जसले फिल्मको रोमान्टिक पक्षलाई संकेत गर्छ ।

फिल्मको छायांकन तथा सम्पादन निर्देशक श्रेष्ठले नै गरेका हुन् । संजय थापाको द्वन्द्व निर्देशन रहेको फिल्मका निर्माता रणधीर श्रेष्ठ र राजेश साह हुन् भने कार्यकारी निर्माता ईश्वर बल्लभ उप्रेती रहेका छन् । टिजर आरएए डिजिटल नेपालको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

एक्सन र रोमान्सको संयोजन बोकेको ‘कुम्भ’ले नयाँ अनुहार र अनुभवी कलाकारको मिश्रणमार्फत नेपाली फिल्म बजारमा फरक स्वाद प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।

Leave a Reply