अस्ट्रेलियाबाट ‘मोक्ष’को ट्रेलर सार्वजनिक, नेपाली पोस्ट–अपोक्यालिप्टिक साइ–फाइमा नयाँ प्रयास

काठमाडौं । अस्ट्रेलियामा करिब १५–२० लाख रुपैयाँको बजेटमा निर्माण गरिएको नेपाली साइन्स फिक्सन फिल्म ‘मोक्ष (Mokshya)’को ट्रेलर सार्वजनिक गरिएको छ । ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको ट्रेलरले सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ ।

सुबर्ण पौडेलको लेखन तथा निर्देशनमा बनेको ५५ मिनेट लम्बाइको यो फिल्मले साइन्स फिक्सन र हिन्दू मिथोलोजीलाई समेट्दै नेपालमै कमै देखिएको पोस्ट–अपोक्यालिप्टिक शैली प्रस्तुत गरेको छ ।

फिल्मको कथामा विनाशको संघारमा पुगेको भविष्यको संसार देखाइएको छ, जहाँ मेघनाथद्वारा सिर्जित अमर पात्र कर्णलाई मानवताको भविष्य निर्धारण गर्न सक्ने शक्तिशाली रत्न ‘स्यामन्तक मणि’ खोज्ने जिम्मेवारी दिइएको हुन्छ । उजाड सहर र विनाशको संसारमा यात्रा गर्ने क्रममा कर्ण कर्तव्य, त्याग र मुक्तिको अर्थबारे गहिरो द्वन्द्वमा फस्छ ।

कोभिड–१९ पछि छायांकन सुरु गरिएको फिल्म युवा फिल्मकर्मीहरूको समूहले आफ्नै लगानीमा निर्माण गरेका हुन् । भिएफएक्स कलाकार आशिम शाक्यले न्यून पारिश्रमिकमै उच्चस्तरीय भिजुअल इफेक्ट्स तयार पारेका छन् ।

फिल्ममा सौरव पौडेल, सागर उपमन्यु ढकाल, सञ्जु केसी, राजीव त्वायना, उपेन्द्र अर्याल, पूजन भण्डेल, शिखा उप्रेती र सुवास चन्दको अभिनय रहेको छ । निर्माता गौरव कंडेल हुन् ।

ट्रेलर सार्वजनिक भएसँगै विशेषगरी युवापुस्ताबाट फिल्मको भिजुअल र भिएफएक्सको प्रशंसा भइरहेको छ ।

फिल्म ‘मोक्ष’ काठमाडौं इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) को २३औँ संस्करणअन्तर्गत मे २७ देखि ३१ सम्म प्रदर्शन गरिनेछ ।

 

Leave a Reply