काठमाडौं । निर्देशक बिनयराज पौडेलको निर्देशनमा नयाँ नेपाली फिल्म ‘अक्षरा’ निर्माण हुने भएको छ । निर्माण टिमले मंगलबार फिल्मको शीर्षक सार्वजनिक गर्दै थिम पोस्टर सार्वजनिक गरेको हो ।
सार्वजनिक पोस्टरमा एक महिला साइड ब्याक झोला बोकेर बिहानको समयमा कतै हिँड्दै गरेको दृश्य देखिन्छ । पोस्टरले फिल्मको मूड गम्भीर र रहस्यमय रहेको संकेत गर्छ । यस आधारमा फिल्म नारीप्रधान कथामा आधारित हुन सक्ने अनुमान गरिएको छ ।
क्षित बाबु प्रोडक्सन हाउसको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्मको छायांकन आगामी वैशाख २७ गतेबाट सुरु गरिने निर्माण पक्षले जनाएको छ । यद्यपि, फिल्ममा अभिनय गर्ने कलाकारहरूको नाम भने हालसम्म सार्वजनिक गरिएको छैन । निर्माण टिमले कलाकारलाई गोप्य राख्दै दर्शकमाझ कौतुहलता सिर्जना गर्ने रणनीति अपनाएको छ ।
राजन दुलाल प्रस्तुतकर्ता रहेको यस फिल्ममा उग्रसेन ढुंगाना र सुरज थापा निर्माता रहेका छन् । फिल्मको कथा उग्रसेन ढुंगानाले लेखेका हुन् भने पटकथा अभिमन्यु निरवीले तयार पारेका छन् ।
निर्देशक पौडेलका लागि ‘अक्षरा’ डेब्यु निर्देशन फिल्म हो । यसअघि उनले दर्जनौं नेपाली फिल्ममा मुख्य सहायक निर्देशकका रूपमा काम गरिसकेका छन् । लामो अनुभवपछि उनले यही फिल्ममार्फत निर्देशकका रूपमा यात्रा सुरु गर्न लागेका हुन् ।
News Filmy Newsportal / Nepal