काठमाडौं । नेपाली फिल्म क्षेत्रमा ‘गौथली’ एउटा भावनात्मक र स्थापित नामका रूपमा चिनिन्छ । प्रतिष्ठित चिकित्सक डा. भोला रिजालको कथामा झण्डै दुई दशकअघि निर्माण भएको ‘गौथली’ले प्रदर्शनको ५१औँ दिन मनाउँदै उल्लेखनीय सफलता हासिल गरेको थियो । अब सोही विरासतलाई नयाँ स्वरूपमा प्रस्तुत गर्दै नयाँ फिल्म ‘गौथली’ प्रदर्शनमा आउन लागेको छ ।
फिल्मको निर्देशन डा. कपिल रिजालले गरेका हुन् । यसअघि उनले अभिनेता जितु नेपाल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनीत ‘ह्यारीकी प्यारी’ निर्देशन गरेका थिए ।
निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति आगामी साउन १ गते (जुलाई १७) तय गरेको छ ।
फिल्ममा अरुण क्षेत्री र सिम्रन खड्काको जोडी मुख्य भूमिकामा देखिनेछ ।
उनीहरूसँगै मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, संयोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीलगायत कलाकारको अभिनय रहेको छ । बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन् ।
डा. भोला रिजालको कथामा आधारित फिल्मको पटकथा तथा संवाद डा. कपिल रिजाल, निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार पारेका हुन् । निर्माण पक्षका अनुसार ‘गौथली’ले घर, परिवार र आपसी सामीप्यताको भावलाई प्रस्तुत गर्नेछ ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको फिल्मका कार्यकारी निर्माता सरला रिजाल हुन् भने सुमन गिरी र डा. कपिल रिजाल निर्माता रहेका छन् । इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्मातामा छन् ।
फिल्ममा शम्भुजीत बास्कोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको संगीत तथा एलिस कार्कीको पार्श्व संगीत रहेको छ । हरि हुमागाईंको छायांकन र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्ममा रामजी लामिछाने र मौसम हिमालीको कोरियोग्राफी छ ।
रिच इन्टरटेन्मेन्ट, एप्पल इन्टरटेन्मेन्ट र एफडी कम्पनीले फिल्म वितरण गर्नेछन् भने डिजिटल अधिकार ओएसआर डिजिटलसँग रहेको छ ।
News Filmy Newsportal / Nepal