‘बा : एक योद्धा’ भदौ १९ मा रिलिज

काठमाडौं । फिल्म ‘बा : एक योद्धा’को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण पक्षका अनुसार फिल्म आगामी भदौ १९ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउनेछ ।

 

हरि लम्सालको निर्देशनमा तयार भएको फिल्म कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा रिलिज गरिने जनाइएको छ । नेपाली संगीत क्षेत्रमा चर्चित लम्सालले यसै फिल्ममार्फत निर्देशनमा डेब्यु गरेका हुन् ।

 

आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मको कथा तथा पटकथा स्वयं लम्सालले लेखेका हुन् । फिल्मका निर्माता वसन्त लम्साल हुन्, जसले यसअघि अभिनेता विपिन कार्की अभिनीत फिल्म ‘कर्मा’ निर्माण गरेका थिए ।

 

फिल्मले नेपाली समाजमा बुवाको भूमिका, त्याग, संघर्ष र जिम्मेवारीलाई केन्द्रमा राख्दै भावनात्मक कथा प्रस्तुत गर्ने निर्माण पक्षको दाबी छ । शीर्षकले नै बुवालाई ‘योद्धा’का रूपमा चित्रण गर्ने संकेत गर्छ ।

 

फिल्मको छायांकन चैत्र ९ गतेदेखि सुरु गरिएको थियो । सुरुवाती चरणमा कलाकारबारे गोप्य राखिएकोमा केही दिनअघि झरना थापा, सुहाना थापा र दिव्यदेव पन्त मुख्य भूमिकामा रहेको खुलाइएको थियो । वास्तविक जीवनकी आमा–छोरी झरना र सुहाना पहिलोपटक पर्दामा पनि आमा–छोरीकै भूमिकामा देखिनेछन् ।

 

फिल्ममा शिवराम श्रेष्ठको छायांकन रहेको छ । उनले यसअघि ‘पूर्ण बहादुरको सारङ्गी’, ‘बोक्सीको घर’ र ‘परान’ जस्ता सफल फिल्ममा काम गरिसकेका छन् । मुख्य सहायक निर्देशक तारणाथ न्यौपाने रहेका छन् ।

 

निर्माण पक्षका अनुसार फिल्मले सामाजिक र भावनात्मक कथामार्फत दर्शकलाई मनोरञ्जनसँगै सन्देश दिने अपेक्षा गरिएको छ ।

Leave a Reply