काठमाडौं । कलाकार प्रकाश तिवारी ‘पिके’ले आफ्नै कथा तथा निर्देशनमा छोटो फिल्म ‘जाली भान्जा’ निर्माण गरेका छन् । फिल्मको पहिलो झलक स्पेनको आलिकान्तेमा सार्वजनिक गरिएको हो ।
फिल्मको पोस्टर चर्चित निर्देशक मीनबहादुर भाम र सगरमाथा आरोही अक्कल बोहराले सार्वजनिक गरेका थिए । यसअघि विभिन्न टेलिफिल्म तथा कथानक फिल्ममा सह–निर्देशन गर्दै अनुभव बटुलेका तिवारीले हालैको नेपाल भ्रमणका क्रममा यस फिल्मको अवधारणा तयार गरेका हुन् ।
“युरोप फर्किने तयारीमा रहेको बेला उडान रोकिएपछि समयलाई सिर्जनात्मक काममा प्रयोग गरेको हुँ,” निर्देशक तिवारीले बताए ।
प्रसुन फिल्म्सको निर्माणमा बनेको फिल्ममा तिवारीसहित सबिन बाँस्तोला ‘गिरधारी’, सुनिल बाँस्तोला, रुद्रप्रसाद बास्तोला लगायत कलाकारले अभिनय गरेका छन् ।
छायांकन मरुभूमि नारायणले गरेका हुन् भने पोस्ट–प्रोडक्सन पेन सिजर्स एण्ड रेन्डर्स स्टुडियोमा भइरहेको छ । सम्पादन गौतम राज खड्काले गरिरहेका छन् ।
फिल्म चाँडै प्रसुन फिल्म्सको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गर्ने तयारी छ । निर्माण टिमले आगामी दिनमा पनि यस्ता सिर्जनात्मक परियोजना निरन्तर गर्ने जनाएको छ । साथै, सोही टिमले निर्माण गरेको ‘कपुरी क’ फिल्म पनि छिट्टै युट्युबमार्फत रिलिज गरिने बताइएको छ ।
News Filmy Newsportal / Nepal