विपिन कार्कीको मुख्य भूमिका रहेको फिल्म ‘काजी’ जेठ ८ मा रिलिज हुँदै

काठमाडौं । अभिनेता विपिन कार्कीको मुख्य भूमिका रहेको फिल्म ‘काजी’को प्रदर्शन मिति घोषणा गरिएको छ । आइतबार प्रिभ्यू सार्वजनिक गर्दै आगामी जेठ ८ गतेलाई प्रदर्शन मिति तय गरिएको हो ।

यो फिल्मलाई लिएर अभिनेता विपिन कार्की निकै उत्साहित देखिएका छन् । केही दिनअघि एक फिल्मको प्रिमियर शोमा भेटिएका विपिनलाई ‘काजी’बारे सोध्दा उनले उत्साहका साथ प्रतिक्रिया दिएका थिए । ‘काजी’ क्लासिक लभस्टोरी फिल्म भएको उल्लेख गर्दै उनले आफ्नो अघिल्लो फिल्म ‘उनको स्वी’जस्तै यसले पनि दर्शकलाई सरप्राइज दिने विश्वास व्यक्त गरे । साथै, उनले यसलाई मुनामदनजस्तै उत्कृष्ट प्रेमकथाको रूपमा लिन सकिने बताए ।

फिल्ममा अभिनेत्री केकी अधिकारी ‘काजी’को कजिनी पात्रको रूपमा प्रस्तुत छिन् । सार्वजनिक प्रिमियम प्रिभ्यूले दर्शकमाझ फिल्मप्रति कौतुहलता बढाउने विश्वास निर्माण टिमको छ । विवाहपछिको प्रेमलाई सुन्दर ढंगले प्रस्तुत गरिएको फिल्मलाई दर्शकले मन पराउने अपेक्षा गरिएको छ । प्रिभ्यूमा फिल्मको मेकिङ भव्य देखिएको छ भने संवादले पनि ध्यान खिच्न सफल भएको छ ।

रामप्रसाद रिजालको प्रस्तुति रहेको फिल्ममा विपिन र केकीसहित गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउँवाला गौतम, सन्दिपबाबु लोहनी, रोजी श्रेष्ठ, गंगा शर्मा, नवराज गिरि, बुद्धी सागर खनाल, प्रशंसा सुवेदी, कृतिका शर्मा र बाल कलाकार दिक्षिता अर्यालको अभिनय रहेको छ ।

रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मलाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् । प्रदीप भारद्धाजको लेखन रहेको फिल्ममा चिन्तन राजभण्डारीको छायांकन, कालिप्रसाद बास्कोटाको संगीत, ओजस्वी ओझाको प्रोडक्सन डिजाइन, रंग संयोजक श्याम कुँवर, सागर अर्यालको लोकेशन ध्वनी र सुजिल कर्माचार्यको पार्श्व संगीत रहेको छ ।

क्रिएटिभ हेड रोनाल्ड श्रेष्ठ, नृत्य निर्देशक कविराज गहतराज, प्रोडक्सन हेड प्रकाश हमाल, सम्पादन सुपरभाइजर बनिश शाह र सम्पादक बिपिन मल्ल रहेको फिल्मको कार्यकारी निर्मातामा असिम काफ्ले छन् भने निर्माता नेहान रिजाल र विकास राज जोशी रहेका छन् । श्रीराम बालाजी फिल्मस्‌ले नेपालभर वितरण गर्नेछ ।

 

 

Leave a Reply