‘एक मुठ्ठी बादल: My Share of Sky’को आधिकारिक पोस्टर सार्वजनिक

Untitled design - 1

काठमाडौं।  फिल्म ‘एक मुठ्ठी बादल: My Share of Sky’ले आफ्नो आधिकारिक पोस्टर सार्वजनिक गरेको छ। पोस्टरले फिल्ममा समावेश सम्पूर्ण कलाकारलाई प्रस्तुत गर्दै यसको कथा पारिवारिक विषयवस्तुमा केन्द्रित रहेको संकेत गरेको छ।

पोस्टरको केन्द्रमा आँचल शर्मा देखिन्छिन् भने उनको वरिपरि परिवारका सदस्यहरू बसेको अवस्था छ। घरभित्र सजिएको सेटिङमा उनीहरूको लवाइले कसैलाई स्वागत गर्न पर्खिरहेको झल्को दिन्छ। पोस्टरले पाहुनाहरू आउनुअघि परिवारका सदस्यहरू तयार भएर बसेको क्षणलाई समेटेको देखिन्छ। तर पाहुनाहरू प्रवेश गर्दा घरभित्रको वातावरण, मौनता र सम्बन्धका तहहरू पनि उजागर हुने संकेत दिइएको छ।

पोस्टरको अग्रभागमा वरिष्ठ कलाकार निशा शर्मा र शेखर चापागाईं देखिन्छन् भने पछाडिको भागमा सहयोग अधिकारी, गौरव विष्ट र अस्मिता गौतम रहेका छन्। उनीहरूको उपस्थिति परिवारभित्रको हिस्सा नभएजस्तो देखिन्छ। यस्तै भीमा मैनेली, उषा रजक, मनिष निरौला र अविरल प्रताप अधिकारीको समूहले नजिकको सम्बन्ध भए पनि अनकही कुराहरू बोकेर बसेको परिवारलाई चित्रण गरेको छ।

सार्वजनिक गरिएको अर्को पोस्टरमा भने निशा शर्मा, आँचल शर्मा र उषा रजकलाई मात्र स्थान दिइएको छ। यसमा आँचल शर्मा केन्द्रमा छिन् भने निशा शर्मा र उषा रजकले उनलाई उत्सुकतापूर्वक हेरिरहेको देखिन्छ, जसले तीन महिलाबीचको सम्बन्धलाई संकेत गर्छ।

सहारा शर्मा द्वारा लिखित तथा निर्देशित यस फिल्मका मुख्य निर्माता अभिमन्यु दीक्षित हुन्। निर्मातामा सारा फाजिलात, सामीप्य राज तिमल्सेना र अनुप पौडेल रहेका छन् भने कार्यकारी निर्माता निकुन श्रेष्ठ हुन्।

फिल्मको छायांकन लिन्ह डान गुयेन फानले गरेका हुन्। प्रोडक्सन डिजाइन यशस्वी सभरवाल, सम्पादन गौरव कुमार मल्लिक, सम्पादन सल्लाहकार दीपा भाटिया, भेषभूषा जानकी कडायत, मेकअप कीर्ति जोशी र कला निर्देशन अग्रणी ठकुरी झाले सम्हालेका छन्। पोस्ट-प्रोडक्सन सुपरभिजन आश्मा गौतमले गरेका छन्।

गौथली इन्टरटेनमेन्ट, मन प्रोडक्सन, थर्ड कल्चर किड्स र क्रोमोजोम फिल्म्सको सह-निर्माणमा बनेको यो फिल्म जेठ १ (मे १५) बाट देशभर प्रदर्शनमा आउनेछ। फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ।

Leave a Reply