‘परालको आगो’ बैशाख ११ बाट प्रदर्शनमा, ट्रेलर र गीतले बढायो चर्चा

काठमाडौं। यहि बैशाख ११ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘परालको आगो’ यतिबेला चर्चामा रहेको छ। फिल्मको गीत तथा ट्रेलरको मेकिङ शैलीका कारण पनि यो चलचित्र दर्शकमाझ थप चर्चित बनेको हो। साथै, फिल्ममा अभिनेत्री सुहाना थापा, सौगात मल्ल र प्रकाश सपुतको दमदार अभिनय देख्न सकिने बताइएको छ।

अघिल्ला फिल्महरूको तुलनामा सुहानाको बिल्कुलै फरक अभिनय रहेको निर्माण पक्षले जनाएको छ। यही कारण फिल्मप्रति निर्माण टिम निकै उत्साहित देखिएको छ। फिल्मका निर्माता सुशील पोखरेलले यो फिल्मले दर्शकमाझ गहिरो छाप छोड्ने विश्वास व्यक्त गरेका छन्।

उनले भने, “मैले धेरै फिल्म निर्माण गरेको छु। तीमध्ये यो फिल्मले दर्शकमाझ विशेष छाप छोड्नेमा म ढुक्क छु।”

निर्माता पोखरेल मात्र होइन, निर्देशक लक्ष्मण सुनार पनि फिल्मप्रति उत्तिकै आशावादी छन्। फिल्मको नयाँ मेकिङ शैलीले दर्शकमाझ उत्सुकता थप बढाएको टिजर तथा गीतमार्फत देख्न सकिन्छ।

निर्माता पोखरेल भन्छन्, “यो फिल्म केवल कथा होइन, प्रस्तुतिकरणको हिसाबले पनि फरक र विशेष अनुभव दिनेछ।”

फिल्ममा संलग्न सम्पूर्ण कलाकारहरूले पहिलो पटक स्क्रिन शेयर गरेका छन्, जसले गर्दा उनीहरूको केमिस्ट्री ताजा, प्राकृतिक र प्रभावशाली हुने अपेक्षा गरिएको छ।

फिल्मका लेखक सुशील देवकोटाले आफूले लेखेको कथाभन्दा फरक रूपमा फिल्म निर्माण भएको बताएका छन्। उनले भने, “‘परालको आगो’ केवल एउटा फिल्म होइन, यो नयाँ प्रयोग, नयाँ ऊर्जा र नयाँ अनुभूतिको संगम हो, जुन दर्शकले छुटाउनु हुँदैन।”

गुरु प्रसाद मैनालीको अमर कथा ‘परालको आगो’मा आधारित यो फिल्म लक्ष्मण सुनारको निर्देशनमा बनेको हो। समीक्षात्मक रूपमा सफल फिल्म ‘बुलाकी’ निर्देशन गरेका सुनारको काम यसमा पनि अब्बल हुने अपेक्षा गरिएको छ।

कमर्शियल रूपमा सफल फिल्मका निर्माता सुशील पोखरेलले ‘परालको आगो’ सहित ‘परदेशी’, ‘मैदान’, ‘जीवनदाता’, ‘जय शिव शंकर’, ‘निगरानी’, ‘बडीगार्ड’, ‘लभ सब’ र ‘राधे’ जस्ता फिल्ममा लगानी गरिसकेका छन्। ती फिल्महरूले आफ्नो समयका दर्शकमाझ राम्रो छाप छोडेका थिए।

यही कारणले पनि ‘परालको आगो’प्रति दर्शकमाझ ठूलो चासो र कौतुहलता देखिएको छ।

 

Leave a Reply