काठमाडौँ । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता विनोद पौडेल अब निर्देशनतर्फ प्रवेश गर्ने भएका छन् । नयाँ वर्षको अवसर पारेर उनले आफ्नो निर्देशनमा बन्ने फिल्म ‘दुई किनारा’को औपचारिक घोषणा गरेका हुन् ।
टाइटल सार्वजनिक गर्दै निर्माण पक्षले पहाडको दुई भिन्न स्वरूपलाई पोस्टरमार्फत प्रस्तुत गरेको छ । एकातिर हरियालीले भरिएको वनजंगल र अर्कोतिर उराठ तथा उजाड पहाड देखाइएको छ । यी दुईबीच नागबेली आकारको साँघुरो बाटो देखाइएको छ, जसले जीवनका दुई पाटा—सुख र दुःख—लाई संकेत गर्ने प्रयास गरेको छ ।
पोस्टरले जीवनमा गरिने साना–साना निर्णयहरूले ठूलो प्रभाव पार्ने विषयवस्तु उठान गरेको संकेत पनि गरेको छ ।
निर्माण पक्षले फिल्म आगामी २०८४ साल वैशाख १ गते प्रदर्शन गर्ने घोषणा गरेको छ । तर, कलाकार, कथा तथा प्राविधिक टिमबारे भने हालसम्म कुनै विवरण सार्वजनिक गरिएको छैन ।
यसअघि विनोद पौडेल निर्माता रहेको ‘पूर्ण बहादुरको सारङ्गी’ नेपाली फिल्म उद्योगकै सर्वाधिक ग्रसकलेक्सन गर्ने फिल्ममध्ये एक बनेको थियो । त्यसपछि उनले ‘अभिमन्यु’ निर्माण गरेका थिए भने अहिले ‘रोल नं १’ प्रदर्शनको तयारीमा रहेको छ ।
तीन सफल फिल्म निर्माणपछि पौडेल अब चौथो प्रोजेक्टमार्फत निर्देशनमा डेब्यु गर्ने तयारीमा छन् ।
News Filmy Newsportal / Nepal