महाराजधिराजमा मुख्य भूमिकामा पुष्प खड्का अनुबन्ध, राजकीय अवतारसहित विशेष पोस्टर सार्वजनिक

काठमाडौं । पछिल्लो समय चर्चामा रहेको चलचित्र महाराजधिराज मा मुख्य भूमिकाका लागि अभिनेता पुष्प खड्का अनुबन्धित भएका छन्। निर्माण टिमले नयाँ वर्ष २०८३ को अवसर पारेर उनलाई मुख्य भूमिकामा अनुबन्ध गरेको जानकारी दिँदै विशेष पोस्टर सार्वजनिक गरेको हो।

लामो समयदेखि फिल्ममा राजाको भूमिकामा को देखिने भन्ने कौतुहलता मेटाउँदै निर्माण पक्षले पुष्प खड्कालाई औपचारिक रूपमा प्रस्तुत गरेको हो। सार्वजनिक पोस्टरमा उनलाई दुई विपरीत र शक्तिशाली अवतारमा देखाइएको छ।

एक तस्बिरमा पुष्प पूर्ण राजकीय पहिरनमा देखिन्छन्, जहाँ उनी श्रीपेच, राजदण्ड र परम्परागत राजसी पोसाकमा प्रस्तुत छन्। अर्को तस्बिरमा भने उनी अत्यन्तै कमजोर, दुब्लो र असहाय अवस्थामा कुर्सीमा बसेको दृश्य देखिन्छ। यी दुई विपरीत अवतारले फिल्मको कथा गहिरो र प्रतीकात्मक रहेको संकेत गर्छ।

निर्माण टिमले पोस्टरसँगै अर्थपूर्ण स्लोगन पनि सार्वजनिक गरेको छ— “सत्कर्म सद्भावका कदमले हरपल साथ निभाओस्, वैमनस्यता बेइमानी संकट कुनै पल नजिक नआओस् ।”अभिनेता पुष्प खड्काले यो भूमिकालाई आफ्नो करियरको सबैभन्दा ठूलो चुनौतीका रूपमा लिँदै अन्य कुनै पनि फिल्म, म्युजिक भिडियो तथा सामाजिक सञ्जाल गतिविधिमा समेत संलग्न नहुने घोषणा गरेका छन्।

निर्देशक सेनको ड्रिम प्रोजेक्ट मानिएको यस फिल्ममा थ्रिलर तथा पिरियड ड्रामाको झल्को देखिन्छ। छायांकनको कलर ग्रेडिङ, कम्पोजिसन र थिमले दर्शकमा उच्च अपेक्षा सिर्जना गरेको छ।

यही वैशाखको दोस्रो साताबाट छायांकन सुरु हुने तयारी रहेको फिल्मको सुटिङ सुनसरीको श्रीलंका टापुबाट सुरु गरिनेछ। त्यसपछि काठमाडौं, भक्तपुर र कीर्तिपुरका विभिन्न ऐतिहासिक स्थानमा छायांकन गरिनेछ।

छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने यस फिल्ममा निर्देशक सेन स्वयं लेखक रहेका छन्। निर्माण टिमले करिब ८० जना कलाकार समेट्ने तयारी गरेको छ।
फिल्ममा पुष्प खड्कासँगै नीर शाह, आर्यन सिक्देल, रमेश उप्रेती, वर्षा राउत, उषा रजक, हिउँबाला गौतम, जयकिशन बस्नेत, शिशिर भण्डारी, गजित विष्ट र आशा पौडेललगायत कलाकारको अभिनय रहनेछ।

फिल्म आगामी बडादशैंको फूलपातीका अवसरमा देशव्यापी प्रदर्शन गर्ने लक्ष्यसहित निर्माण भइरहेको निर्माण टिमले जनाएको छ।

Leave a Reply