काठमाडौं । फिल्म ए मेरो हजुर २बाट अभिनेताका रूपमा डेब्यु गरेका सलिनमान बनियाले लामो समयपछि पुनः फिल्ममा फर्किने संकेत दिएका छन्। पहिलो फिल्मबाटै दर्शकमाझ लोकप्रिय बनेका उनले त्यसपछि यात्राः अ म्युजिकल भ्लगमा अभिनय गरेका थिए।
तर त्यसयता उनी फिल्म र सार्वजनिक उपस्थितिबाट टाढा जस्तै देखिँदै आएका थिए। गत वर्ष सलोन बस्नेतको फिल्म ‘रंगी’को प्रिमियरमा देखिएका सलिनमान नयाँ वर्ष २०८३ को अवसर पारेर सामाजिक सञ्जालमार्फत पुनः चर्चामा आएका छन्। उनले एक तस्बिर सार्वजनिक गर्दै कमब्याकको संकेत दिएका हुन्।
उनले लेखेका छन्, “कहिलेकाहीँ दूरी अन्त्य होइन, तयारी हुन्छ। आठ वर्षको मौनता पछि, नयाँ वर्षले केही पुराना रंगहरू फेरि जिउँदो पार्न खोज्दैछ।” उनको यो अभिव्यक्तिले उनी चाँडै नै फिल्ममार्फत पुनरागमन गर्ने अनुमान गरिएको छ। स्रोतका अनुसार उनले सलोन बस्नेतसँग सहकार्य गर्ने चर्चा भए पनि यसबारे आधिकारिक पुष्टि भने भएको छैन।
सार्वजनिक तस्बिरमा उनी कुनै दृश्यमा अभिनय गरिरहेको जस्तो देखिन्छ, जसले उनको नयाँ प्रोजेक्टप्रति दर्शकमाझ झनै कौतुहलता बढाएको छ। आठ वर्षको लामो अन्तरालपछि सलिनमान बनिया कुन फिल्ममार्फत फर्किनेछन् भन्नेबारे अब सबैको नजर केन्द्रित भएको छ।
News Filmy Newsportal / Nepal