कार्की साइँलाको फस्ट लुक्स सार्वजनिक, साउन १ मा प्रदर्शन हुने

काठमाडौं । हास्य कलाकार जितु नेपालको मुख्य भूमिका रहेको फिल्म ‘कार्की साइँला’को पहिलो पोस्टरसँगै प्रदर्शन मिति घोषणा गरिएको छ। निर्माण टिमले नयाँ वर्ष २०८३ को अवसर पारेर फिल्म आगामी साउन १ गतेदेखि प्रदर्शनमा ल्याउने जनाएको हो।

सार्वजनिक पोस्टरमा जितु नेपाललाई भरियाको भूमिकामा प्रस्तुत गरिएको छ। उनले बोकेको डोकोभित्र पहाडको दृश्य झल्किएको देखिन्छ, जहाँ पाँच जना भरिया हिँडिरहेको दृश्य समावेश छ। आकाशमा उडिरहेका चराले फिल्मको परिवेश र कथाको संकेत गर्छ।

पोस्टरको तल्लो भागमा एक मायालु जोडीको दृश्य पनि समेटिएको छ, जहाँ युवतीले पुरुषको काँधमा टाउको राखेको देखिन्छ। यसले फिल्ममा प्रेमकथाको पाटो पनि रहेको अनुमान गर्न सकिन्छ। पोस्टरमा जितु नेपाल फरक र आकर्षक लुक्समा प्रस्तुत भएका छन्, जसले उनको यसअघिको छविभन्दा भिन्न भूमिका रहेको संकेत गर्छ।

निर्देशक राजेन्द्र बस्नेतले हास्य कलाकारका रूपमा चिनिएका जितुलाई यस फिल्ममा भरियाको गम्भीर कथामा प्रस्तुत गरेका छन्।फिल्म धनकुटा, सुनसरीको बराहक्षेत्र, चतरा लगायत पूर्वी क्षेत्रका विभिन्न स्थानमा छायांकन गरिएको हो। फिल्ममा जितु नेपालसँगै प्रियना आचार्य (मुन्नी), सुशील पोखरेल, बिरेन्द्र सिंह कुशहुवा, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बु, रोदा राई र कमल देवकोटा लगायत कलाकारहरूको अभिनय रहेको छ।

बालकुमार राई निर्माता रहेको फिल्ममा कृष्ण भगत चाम्लिङ प्रस्तुतकर्ता रहेका छन्। रोजल थापा मुख्य सहायक निर्देशक हुन् भने छायांकन डम्बर राईले गरेका छन्।

कर्णबहादुर फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको यस फिल्ममा द्वन्द निर्देशन किरण दाहालको छ भने संगीत दिप्सन लिम्बुको रहेको छ। प्रोडक्सन सिबी भण्डारीले सम्हालेका छन्।फिल्मको वितरण कुबेर फिल्मस्ले गर्ने जनाएको छ।

Leave a Reply