काठमाडौं । बलिउडको चर्चित ‘कल्ट–क्लासिक’ फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पी नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)मा सहभागी हुन काठमाडौं आइपुगेका छन्। बुधबार बेलुका काठमाडौं उत्रिएका सिप्पी केही दिन नेपालमै रहनेछन्।
आजदेखि सुरु हुने फेस्टिभलको उद्घाटन सत्रमा सिप्पी सहभागी हुने कार्यक्रम छ। निफको दोस्रो दिन चैत २० गते दिउँसो ३ बजे पर्यटन बोर्डमा निर्देशक सिप्पी र अभिनेता राजेश हमालबीच ‘सिनेमा संवादः रमेश सिप्पी र राजेश हमालसँग’ शीर्षकको अन्तरक्रिया कार्यक्रम तय गरिएको छ।
उक्त कार्यक्रममा उनीहरूले व्यक्तिगत अनुभव, सिनेमा यात्रा र सिनेमाको भविष्यबारे विचार आदानप्रदान गर्ने आयोजकले जनाएको छ।
चैत १९ देखि २३ गतेसम्म सञ्चालन हुने निफको नवौं संस्करणको नारा ‘विश्वका कथाहरूको उत्सव, नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ राखिएको छ।
निर्देशक सिप्पीसँगै भारतीय कलाकार किरण जुनेजा र नेपाली मूलका भारतीय निर्माता निलकण्ठ रेग्मी पनि फेस्टिभलमा सहभागी हुनेछन्। सिभिल मलमा हुने उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा सञ्चार सचिव लक्ष्मीकुमारी बस्नेत सहभागी हुने कार्यक्रम छ।
यस संस्करणमा ४० देशका ८८ फिल्म प्रतिस्पर्धामा सहभागी छन् भने ६ चिनियाँ र ४ रुसी फिल्म विशेष प्रदर्शनका लागि राखिएको आयोजकले जनाएको छ।
News Filmy Newsportal / Nepal