काठमाडौं । फिल्म ‘रोल नं १’को पहिलो झलक सार्वजनिक गरिएको छ। निर्माण कम्पनी सेभेन सिज सिनेमाले बिहीबार फिल्मका दुई पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति पनि घोषणा गरेको हो। फिल्म आगामी वर्षको जेठ १५ (गणतन्त्र दिवस)बाट देशभर प्रदर्शनमा आउनेछ।
सार्वजनिक पोस्टरहरूले पात्र परिचयसँगै नेपाली समाजको यथार्थ, विशेषतः ग्रामीण जीवन र शिक्षासँग जोडिएको संघर्षलाई चित्रण गर्ने प्रयास गरेका छन्। माटोको रङ प्रयोग गरिएको पोस्टरले भुइँमान्छेको कथा प्रस्तुत गर्ने संकेत गर्छ।
एक पोस्टरमा बाल–कलाकार निर्भिक रेग्मीसँगै अभिनेता मुकुन भुसाल र अभिनेत्री रेणु योगी ग्रामीण भेषभुषामा देखिएका छन्। पोस्टरले अभावका बीच पनि छोरालाई पढाउने अभिभावकको संघर्ष देखाउँछ। पृष्ठभूमिमा देखिएको पहाडी विद्यालयले ग्रामीण क्षेत्रमा शिक्षासम्मको पहुँच अझै चुनौतीपूर्ण रहेको संकेत गर्छ।
अर्को पोस्टरमा बालक बुबाको पिठ्युँमा टाउको राखेर सुतेको भावनात्मक दृश्य छ। यसले अभिभावकको त्याग र सन्तानको भविष्यप्रतिको जिम्मेवारीलाई प्रतीकात्मक रूपमा प्रस्तुत गरेको छ।
फिल्मको ट्यागलाइन ‘हरेक विद्यार्थीको कथा’ राखिएको छ, जसले विद्यार्थी जीवन, विद्यालयको संघर्ष र शैक्षिक सपनालाई केन्द्रमा राखेको देखिन्छ।
जोन योञ्जनको निर्देशनमा बनेको फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी लगायत कलाकारको अभिनय रहेको छ भने बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ छन्।
विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको फिल्मको कथा महेश दवाडीले लेखेका हुन्। म्याग्दीका विभिन्न ग्रामीण भेगमा छायांकन गरिएको फिल्मको छायांकन शिवराम श्रेष्ठले गरेका छन्।
फिल्ममा प्रशान्त शिवाकोटीको संगीत, रोहित शाक्यको ब्याकग्राउन्ड म्युजिक र सम्पादन मदन घिमिरेको रहेको छ। फिल्म नेपालसहित विदेशमा पनि एकसाथ प्रदर्शन गर्ने तयारी रहेको निर्माण पक्षले जनाएको छ।
News Filmy Newsportal / Nepal