सिक्किम अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल सम्पन्न, नेपाली प्रतिनिधि जेनीश पहारी सम्मानित

काठमाडौं । ‘सिक्किम अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’ को पहिलो संस्करण सफलतापूर्वक सम्पन्न भएको छ। सिक्किम सरकारद्वारा आयोजित फेस्टिभलले प्रदेशको सांस्कृतिक तथा फिल्म क्षेत्रलाई नयाँ उचाइ दिने अपेक्षा गरिएको छ।

उक्त कार्यक्रममा नेपालबाट बटरफ्लाई फिल्म्सकी संस्थापक तथा प्रबन्ध निर्देशक जेनीश पहारी सहभागी भएकी थिइन्। उनी नेपालबाट सहभागी हुने एक मात्र महिला फिल्म वितरकका रूपमा प्रस्तुत भएकी हुन्।
फेस्टिभलअन्तर्गत उनले “Building the Future: Strengthening Films in Sikkim” र “Producers Conversation” शीर्षकका प्यानल छलफलहरूमा सहभागिता जनाइन्। छलफलमा सीमापार सहकार्य, सह–निर्माण र क्षेत्रीय फिल्म विकासका विषयमा विचार आदानप्रदान गरिएको थियो।

पहारीले नेपालमा विकसित हुँदै गएको फिल्म इकोसिस्टमबारे अनुभव साट्दै सिक्किमले अपनाउन सक्ने रणनीतिहरू पनि प्रस्तुत गरिन्। उनले नेपाली फिल्मले पछिल्लो समय आन्तरिक बजारमा बलियो उपस्थिति जनाएको र स्थानीय कथावस्तुप्रति दर्शकको आकर्षण बढ्दै गएको उल्लेख गरिन्।

यसैक्रममा उनी भारतीय फिल्म समीक्षक राजीव मसन्द तथा धर्मा प्रोडक्सनका प्रतिनिधिसँगको बन्द कक्ष छलफलमा पनि सहभागी भइन्। उक्त छलफलमा सिक्किम सरकारका उच्च अधिकारीहरू समेत सहभागी थिए।

फिल्म क्षेत्रमा पुर्‍याएको योगदान र क्षेत्रीय सहकार्यमा खेलेको भूमिकाको कदरस्वरूप सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले पहारीलाई सम्मान गरेका छन्।
यो सहभागिताले नेपाल–भारतबीच सांस्कृतिक तथा सिनेमाटिक सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

Leave a Reply