काठमाडौं । मालती मंगले को शीर्ष गीत ‘सुनैको सपनी’ सार्वजनिक गरिएको छ। रामकृष्ण ढकाल को निर्माण तथा प्रस्तुतिमा बनेको यस फिल्मको गीत एक विशेष कार्यक्रमबीच सार्वजनिक गरिएको हो। चलचित्र आगामी वैशाख २५ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।
रानी फिल्म्स को ब्यानरमा निर्माण भएको फिल्मको गीतमा आनन्द अधिकारी को शब्द, उज्ज्वल सागर को सङ्गीत तथा रामकृष्ण ढकाल र रचना रिमाल को स्वर रहेको छ। उदयराज पौडेलले एरेन्ज गरेको गीतले ग्रामीण प्रेमकथाको भाव प्रस्तुत गर्छ।
कार्यक्रमको सबैभन्दा भावुक क्षण भने त्यतिबेला बन्यो, जब रामकृष्ण ढकालले सङ्गीतकार उज्ज्वल सागरलाई आफ्नो हस्ताक्षरसहितको गितार उपहार प्रदान गरे। दृष्टिविहीन सङ्गीतकार सागरले उक्त सम्मानप्रति खुशी व्यक्त गर्दै टिमसँग काम गर्न पाउँदा उत्साहित भएको बताए।
कार्यक्रममा बोल्दै ढकालले चलचित्र ‘मालती मंगले’ राष्ट्रकवि माधवप्रसाद घिमिरे को चर्चित गीतिनाटकमा आधारित नभएको स्पष्ट पारे। उनका अनुसार फिल्म सामाजिक परिवेशमा आधारित साङ्गीतिक प्रेमकथा हो।
गीतकार आनन्द अधिकारीले गीतमा गरिब वर्गको प्रेमभाव प्रस्तुत गर्न खोजिएको बताए। यस्तै, गायिका रचना रिमालले आफ्नो स्वरका लागि लामो समय पर्खिएकोमा ढकालप्रति कृतज्ञता व्यक्त गरिन्।
निर्देशक प्रकु पाण्डेय ले पहिलो निर्देशनमै विश्वास गरेकोमा ढकाललाई धन्यवाद दिँदै फिल्म उत्कृष्ट पारिवारिक कथामा आधारित रहेको बताए। अभिनेत्री वर्षा राउत ले पनि यस्तो टिमसँग काम गर्न पाउनु आफूका लागि विशेष रहेको बताइन्।
फिल्ममा विजय बराल, वर्षा राउत र मेक्सम गौडेल मुख्य भूमिकामा छन्। साथै, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला लगायतका कलाकारहरूको अभिनय रहेको छ।
फिल्मको कथा निर्देशक पाण्डेयले लेखेका हुन् भने पटकथा तथा संवाद संयोग गुरागाईँ ले तयार पारेका छन्। छायांकन महेश पौडेल, सम्पादन रोमी मोजेज तथा रङ्ग संयोजन कृष्ण भण्डारीले गरेका छन्।
फिल्मको डिजिटल वितरण OSR Digital ले गर्नेछ भने थिएटर वितरण आरआर फिल्म्सले गर्ने जनाएको छ।
News Filmy Newsportal / Nepal