काठमाडौं। नेपाली चलचित्र क्षेत्रका दिग्गज निर्देशक तुलसी घिमिरेको नयाँ फिल्म ‘पहाड’को पहिलो झलक (टिजर) सार्वजनिक गरिएको छ। आगामी नयाँ वर्ष अर्थात् २०८२ वैशाख १ गतेलाई प्रदर्शन मिति तोक्दै निर्माण पक्षले फिल्मको विषयवस्तु समेटिएको टिजर बाहिर ल्याएको हो।
सार्वजनिक गरिएको टिजरमा पहाडी ग्रामीण जनजीवन र त्यहाँबाट वैदेशिक रोजगारीका लागि भइरहेको युवा पलायनको गम्भीर समस्यालाई मुख्य रूपमा देखाइएको छ। रोजगारी र अवसरको अभावमा युवाहरू गाउँ छोडेर विदेश पलायन हुँदा रित्तिँदै गएका बस्तीहरू र त्यसले निम्त्याएको सामाजिक एवं आर्थिक संकटलाई फिल्मले पर्दामा उतारेको छ।
निर्देशक घिमिरेले फिल्मबारे बोल्दै भनेका छन्, “पहाड नेपालको सुन्दर पहिचान हो, तर पछिल्लो समय अवसरको खोजीमा युवा शक्ति बाहिरिँदा हाम्रा गाउँहरू उजाड बन्दै गएका छन्। यही यथार्थलाई हामीले फिल्मको माध्यमबाट प्रस्तुत गर्ने प्रयास गरेका छौँ।”
कलाकार र प्राविधिक पक्ष
भाग्यरत्न फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको यस फिल्ममा विपिन कार्की, मदनकृष्ण श्रेष्ठ, सुनील थापा, अरुण क्षेत्री, रविन्द्र सिंह बानियाँ, रेनुनाथ योगी र उमा गिरी लगायतका कलाकारहरूको मुख्य अभिनय रहेको छ। यसै फिल्ममार्फत निर्देशक घिमिरेले आफ्नी कान्छी छोरी पञ्चमी घिमिरेलाई अभिनेत्रीका रूपमा डेब्यु गराउँदैछन् भने जेठी छोरी भावना घिमिरेले निर्माण डिजाइनरको जिम्मेवारी सम्हालेकी छन्।
चलचित्रमा चर्चित संगीतकार रञ्जित गजमेरको संगीत रहेको छ। प्रमोद प्रधानको छायाङ्कन रहेको फिल्ममा कविराज गहतराज र मिङमा डी लेप्चाको नृत्य निर्देशन, कुमार महर्जनको द्वन्द्व निर्देशन तथा शंकर कोइराला र भारती घिमिरेको सम्पादन रहेको छ।
News Filmy Newsportal / Nepal