फिल्म ‘लालीबजार’को पहिलो गीत सार्वजनिक, स्वस्तिमा र समाइराको नृत्य आकर्षण

काठमाडौ। फिल्म ‘लालीबजार’को पहिलो गीत ‘मायालाई के दिऊँ म बैना’ सार्वजनिक गरिएको छ। षट्कोण आर्टसको ब्यानरमा निर्माण भएको फिल्मको गीत शुक्रबार आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो।

सार्वजनिक गीतमा स्वस्तिमा खड्का, रविन्द्रसिंह बानियाँ, बालकलाकार समाइरा थापा, मुकुन्द श्रेष्ठ र डेब्यू कलाकार विशाल देवकोटा फिचर्ड छन्। प्रदीप लामाको नृत्य निर्देशन रहेको गीतमा स्वस्तिमा र समाइराको नृत्य मुख्य आकर्षणका रूपमा प्रस्तुत गरिएको छ।

गीतमा दीपिका बयाम्बु मगर र खेम सेन्चुरीको स्वर छ भने संगीत पनि खेम सेन्चुरीकै रहेको छ। गीतका शब्द रमेश बिजीले लेखेका हुन्। गायिका दीपिकाले यसअघि गाएको ‘कश्मिरे पछ्यौरी दार्जलिङको रेल’ गीत दर्शकमाझ निकै लोकप्रिय बनेको थियो।

यम थापाको कथा तथा निर्देशनमा बनेको फिल्मको पटकथा तथा संवाद निर्देशक थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा तयार गरेका हुन्। फिल्ममा अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी र सरस्वती अधिकारीलगायत कलाकारको अभिनय रहेको छ। बर्दियाको राजापुरमा फिल्मको छायांकन गरिएको हो।

कार्यकारी निर्माता प्रदीप भट्टराई रहेको फिल्ममा म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता छन्। जेबी रुवाली क्रिएटिभ निर्देशक, सम्राट बस्नेत द्वन्द्व निर्देशक, सुशन प्रजापती छायांकन निर्देशक, मित्रदेव गुरुङ सम्पादक तथा रुपकप्रताप अधिकारी प्रोडक्सन हेडका रूपमा रहेका छन्।

फिल्म आगामी २०८३ साल बैशाख १८ गते प्रदर्शनमा आउने तयारीमा छ। स्वस्तिमाको नियमितभन्दा फरक भूमिकाले फिल्मप्रति दर्शकको उत्सुकता बढाएको निर्माण टिमले जनाएको छ।

Leave a Reply