पोखराको हल्लनचोकमा ‘कुमारी’ को रौनक: ७ हजार दर्शकमाझ अभिषेक र आकृतिको नृत्य

काठमाडौं। माघ २३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘कुमारी’ को सांगीतिक यात्रा शनिबार साँझ पर्यटकीय नगरी पोखरा आइपुगेको छ। नेपालगन्जबाट सुरु भएको ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट विथ केहर एन्ड द लुङा’ को दोस्रो गन्तव्यका रूपमा पोखराको हल्लनचोकमा भव्य कार्यक्रम सम्पन्न भएको हो।

कन्सर्टमा करिब ७ हजार दर्शकको उत्साहजनक उपस्थिति रहेको थियो। फिल्मका मुख्य कलाकार अभिषेक खड्का र आकृति राजभण्डारी स्टेजमा उत्रिँदा दर्शकले हुटिङ र तालीका साथ स्वागत गरेका थिए। उनीहरूले फिल्मको चर्चित गीत ‘डोको बुन्ने निगाली चोयाले’ मा प्रत्यक्ष नृत्य प्रस्तुत गर्दा हल्लनचोकको माहौल निकै उत्साहित बनेको थियो।कलाकार द्वयले पोखरेली दर्शकको अभूतपूर्व मायाप्रति आभार प्रकट गर्दै फिल्म हेर्न आग्रह समेत गरे।

पार्श्व गायक केहर सिं लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द लुङा’ ले फिल्मका गीतहरू ‘डोको बुन्ने…’, ‘कता छौ मेरो फूल’ र ‘तिमी बिना’ प्रस्तुत गरेका थिए। फिल्मका सबै गीतमा स्वर दिएका केहर र उनको ब्यान्डको प्रस्तुतिमा दर्शकहरू मज्जाले झुमेका थिए।

निर्देशक दिनेश राउतले पोखरामा देखिएको यो क्रेजले आफूलाई थप उत्साहित बनाएको बताए। “दर्शकको यो साथले फिल्मप्रति ठूलो आशा जगाएको छ,” उनले भने।

महेन्द्र अधिकारीले निर्माण गरेको यो फिल्मको प्रमोसन टुर अब अन्य सहरतर्फ मोडिनेछ। निर्माण पक्षका अनुसार आगामी कार्यक्रमहरूको तालिका यसप्रकार छ: 

माघ ६ गते: चितवन ,माघ १० गते: काठमाडौं (भृकुटीमण्डप) ,माघ १७ गते: दमक, झापा ,माघ १० गते काठमाडौंको भृकुटीमण्डपमा हुने विशेष कन्सर्टमा फिल्मको आधिकारिक ट्रेलर सार्वजनिक गरिनेछ।

Leave a Reply