काठमाडौं । नेपाली फिल्म र संगीत क्षेत्रको प्राविधिक गुणस्तरलाई विश्वस्तरमा पुर्याउने उद्देश्यसहित ‘म्युजिक नेपाल’ले मुलुकमै पहिलोपटक डल्बी एट्मस (Dolby Atmos) द्वारा मान्यताप्राप्त पोस्ट–प्रोडक्सन स्टुडियो सञ्चालनमा ल्याएको छ ।
चार दशकदेखि नेपाली संगीत क्षेत्रमा सक्रिय म्युजिक नेपालले करिब १० करोड रुपैयाँको लगानीमा गौशालास्थित पिंगलास्थानमा अत्याधुनिक ‘म्युजिक नेपाल अडियो भिजुअल’ स्टुडियो निर्माण गरेको हो । स्टुडियोको शुक्रबार औपचारिक शुभारम्भ गरिएको हो ।
कार्यक्रममा फिल्म विकास बोर्डका अध्यक्ष दिनेश डिसी प्रमुख अतिथि, वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य विशिष्ट अतिथि तथा म्युजिक नेपालका प्रमुख सन्तोष शर्माको उपस्थिति थियो । कलाकारद्वय श्रेष्ठ र आचार्यले पानसमा दीप प्रज्ज्वलन गर्दै डल्बी एट्मस स्टुडियोको उद्घाटन गरेका हुन् ।
शनिबारदेखि पूर्ण रूपमा सञ्चालनमा आएको यो स्टुडियो दक्षिण एसियामा भारतपछि डल्बीले विस्तार गरेको पहिलो ठूलो परियोजना हो । डल्बीबाट सर्टिफाइड यो स्टुडियो दक्षिण एसियामा रहेका सीमित १० वटा उत्कृष्ट स्टुडियोमध्ये एक हो भने नेपालमा भने पहिलो डल्बी एट्मस साउन्ड मिक्सिङ स्टुडियो हो ।
स्टुडियोको सबैभन्दा ठूलो विशेषता यसको ३२.१ डल्बी एट्मस कन्फिगरेसन हो । यसमा ३२ वटा स्पिकर च्यानल र १ सब–वुफर (LFE) च्यानल रहेको छ । सामान्य ५.१ वा ७.१ साउन्ड सिस्टमभन्दा फरक, ३२.१ डल्बी एट्मस प्रविधिले दर्शकलाई आवाजको केन्द्रमै भएको अनुभूति गराउँछ । छतमाथिबाट, अगाडि–पछाडि तथा चारैतिर घुम्ने ‘थ्री–डी’ ध्वनिले वर्षा, चरा उडेको वा हेलिकप्टर आएको अनुभव वास्तविक जस्तै बनाउँछ ।
स्टुडियो सेटअपका लागि बलिउडका दिग्गज साउन्ड इन्जिनियर दमन सुद, डल्बी भारतका निर्देशक समीर सेठ र वरिष्ठ इन्जिनियर भरत रेड्डी काठमाडौं आएका थिए । दमन सुदले यश चोपडा, करण जोहर र सञ्जयलीला भन्सालीका फिल्ममा साउन्ड डिजाइन गरिसकेका छन् ।
“यो स्टुडियो उपकरणको थुप्रो मात्र होइन, फ्युचरिस्टिक सोचका साथ बनाइएको हो । आगामी १० वर्षलाई लक्षित गरेर तयार गरिएको यो स्टुडियोले नेपाली फिल्मलाई अस्कर र संगीतलाई ग्रामी अवार्डसम्म पुर्याउने क्षमता राख्छ,” सुदले भने ।
नेपाली मौलिकता झल्काउन स्टुडियोका कक्षहरू ८ हजार मिटरभन्दा अग्ला हिमाल र राष्ट्रिय चराको नाममा राखिएका छन् ।
सगरमाथा कक्ष : डल्बी एट्मस मिक्सिङ
मनास्लु कक्ष : बहुउद्देश्यीय कक्ष
अन्नपूर्ण र ल्होत्से : एडिटिङ र मिक्सिङ स्विट
धौलागिरी : रेकर्डिङ तथा कन्ट्रोल रुम
डाँफे : डीआई (Digital Intermediate) रुम
फिल्मकर्मीलाई विशेष सहुलियत
नेपाली फिल्मको कमजोर मानिने साउन्ड पक्ष सुधार्न म्युजिक नेपालले विशेष सहुलियतको घोषणा पनि गरेको छ । स्टुडियो बुकिङ गर्ने पहिलो तीन फिल्मलाई ५० प्रतिशतसम्म छुट दिइनेछ भने जनवरी ३१ सम्म सेवा लिने सबैलाई २५ प्रतिशत छुट उपलब्ध हुनेछ ।
म्युजिक नेपालका प्रमुख सन्तोष शर्माका अनुसार, “नेपाली फिल्ममा हुनुपर्ने स्तरको ध्वनि प्रभाव नपुगेको महसुस गरेर हामीले यो जोखिम लिएका हौं । डल्बीले प्रमाणित गरेपछि अब हलिउड र नेपालको साउन्ड क्वालिटी एउटै स्तरमा पुग्नेछ ।”
डल्बी सर्टिफाइड स्टुडियो भएकाले यहाँ अन्तर्राष्ट्रिय स्तरको साउन्ड क्वालिटी पाइने शर्माको दाबी छ । स्टुडियोमा सम्पादन, डीआई, रेकर्डिङ, प्रि–मिक्सलगायत फिल्मका सम्पूर्ण पोस्ट–प्रोडक्सन काम हुने जनाइएको छ।
उपकरणसँगै दक्ष जनशक्ति उत्पादनमा पनि जोड दिइएको छ । डल्बीका इन्जिनियर भरत रेड्डीले फिल्म विकास बोर्डसँगको सहकार्यमा नेपालका २० जना साउन्ड इन्जिनियरलाई विशेष तालिम दिइसकेका छन् । यससँगै अब नेपाली फिल्मको पोस्ट–प्रोडक्सनका लागि विदेश जानुपर्ने बाध्यता अन्त्य हुने विश्वास गरिएको छ ।
भरत रेड्डी ‘थ्री इडियट्स’, ‘पुष्पा’, ‘सैयारा’, ‘सितारे जमीन पर’ लगायत चर्चित फिल्मसँग जोडिएका डल्बी सर्टिफाइड ट्रेनर हुन् ।
News Filmy Newsportal / Nepal