काठमाडौं । यसै वर्षको अन्त्यतिर प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली फिचर फिल्म ‘मालती मङ्गले’ छायाङ्कनको अन्तिम चरणमा प्रवेश गरेको छ । यसअघि बाँकी रहेका दुई गीतमध्ये पहिलो गीत ‘ढुङ्गा माथि लेउ’ को छायाङ्कन अहिले भइरहेको छ ।
काठमाडौंको जर्सिङ पौवा मा सोमबारबाट छायाङ्कन सुरु भएको यो गीतमा अभिनेता विजय बराल र अभिनेत्री वर्षा राउत ले क्लासिक बलिउड लुक मा रोमान्टिक नृत्य गरिरहेका छन् ।
यो गीतमा एसडी योगी को सङ्गीत, रामकृष्ण ढकाल र रीतिका श्रेष्ठ को स्वर तथा हर्क साउद को शब्द रहेको छ । गीतको कोरियोग्राफी रोशन बिके ले गरेका छन् ।
प्रकु पाण्डेय निर्देशित यो फिल्मको कथा पनि उनकै लेखन हो । चलचित्रको सम्पूर्ण छायाङ्कन चाँडै नै पूर्ण हुने निर्माण टिमले जनाएको छ ।
फिल्ममा विजय बराल, वर्षा राउत र मेक्सम गौडेल मुख्य भूमिकामा छन् । उनीहरूका साथै सुवर्ण थापा, प्रकाश घिमिरे, सरिता गिरी लगायतका कलाकारहरूको पनि उपस्थिति रहेको छ ।
रानी म्युजिक इन्टरनेशनल प्रा.लि. को ब्यानरमा युनी इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भइरहेको यो फिल्मका निर्माता रामकृष्ण ढकाल हुन् ।
News Filmy Newsportal / Nepal