‘पाँडे’ को निर्देशनमा बनेको ‘झरीपछिको इन्द्रेणी’ को ट्रेलर सार्वजनिक

काठमाडौं । हास्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’ को डेब्यु निर्देशनमा निर्माण भएको फिल्म ‘झरीपछिको इन्द्रेणी’ को ट्रेलर सार्वजनिक भएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको २ मिनेट ५५ सेकेण्ड लामो ट्रेलरले फिल्मको कथावस्तुबारे प्रकाश पारेको छ ।

भ्रष्टाचार र बेथिती विरुद्ध एक जेनजी युवाले माइतीघर मण्डलाबाट थालेको आन्दोलनको कथावस्तुमा फिल्म आधारित रहेको ट्रेलरबाट बुझ्न सकिन्छ । यसले केही समयअघि नेपालमा भएको जेनजी आन्दोलनको झल्को दिन्छ ।

ट्रेलरमा उठाएको कथावस्तुका विषयमा निर्देशक पाँडेलाई प्रश्न गर्दा उनले जेनजी आन्दोलन अगावै फिल्मको छायांकन सकिएकाले कहीँ कतै मिल्न गए संयोग मात्रै हुने बताए । यो फिल्म आगामी पौष ४ गते देशव्यापी रिलिज हुँदैछ ।

नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको यो फिल्मबाट अभिनेता गणेश उप्रेती लामो समयपछि कमब्याक गर्दैछन् । उप्रेती फिल्मको छायांकनका लागि अमेरिकाबाट नेपाल फर्किएका थिए ।

फिल्ममा गणेशसँगै रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, अर्जुन घिमिरे (पाँडे) लगायतको अभिनय छ ।कलाकार विमोचन दवाडी र जेसिका पोखरेल ले यो फिल्मबाट डेब्यु गर्दैछन् ।

निर्देशक घिमिरे स्वयंको कथा रहेको यस फिल्मको पटकथा र संवादमा गणेश कार्की, विशाल घिमिरेले मिलेर लेखेका हुन् । सिनेमाका छायांकार बुद्ध थापा हुन्।

Leave a Reply