गान्तोक, सिक्किम । वैशाख २६ गतेदेखि नेपालभर प्रदर्शनमा आउन लागेको फिल्म ‘जार’ को प्रिमियर सिक्किमको गान्तोकस्थित वाज्रा वर्ल्ड हलमा सम्पन्न भएको छ।
वरिष्ठ साहित्यकार इन्द्रबहादुर राईको अमर कृति जार मा आधारित फिल्म हेर्न ७ सय दर्शक र पाहुनाले हल गुञ्जायमान बनेको थियो। प्रिमियरमा सिक्किम सरकारका उच्चपदस्थ व्यक्तित्वदेखि नेपाली फिल्म क्षेत्रका अनुभवी र नयाँ पुस्ताका कलाकार, निर्देशक तथा शुभेच्छुकहरूको उपस्थिति उल्लेखनीय रह्यो। निर्देशक फुर्वा छिरिङ लामा नेतृत्वमा अभिनेता सौगात मल्ल र अनुपविक्रम शाहीको टिम नेपालबाट प्रिमियर कार्यक्रममा सहभागी हुन सिक्किम पुगेका थिए। पारिवारिक कारणले अभिनेत्री गीताञ्जली थापा भने सहभागी हुन सकिनन्।
फिल्म हेरेपछि स्थानीय दर्शकहरू भावुक र उत्साहित देखिए। कथाको गहिराइ, अभिनयको निखार, निर्देशन , भिएफएक्सको प्रयोग र झुमा लिम्बुको संगीतले दर्शकलाई मन्त्रमुग्ध बनाएको प्रतिक्रिया मिलेको थियो । नव–कलाकार सुस्मिता भुजेलको अभिनयले पनि ध्यान खिच्न सफल भयो।
प्रिमियरमा सहभागी हुन पुगेका फिल्म निर्देशक साम्तेन भुटियाले फिल्मले साहित्यिक मूल कथालाई पूर्ण न्याय दिएको बताए। उनका अनुसार, निर्देशक फुर्वा लामाले दृश्य–संयोजन र मौन संवादको प्रभावशाली प्रयोगमार्फत दर्शकको ध्यान तान्न सफल भएका छन्। फिल्ममा भिएफएक्सबाट तयार गरिएको बाघको दृश्यले प्रिमियर हलमा सिठ्ठी र तालीको वर्षा गरायो। दृश्यको यथार्थपरक प्रस्तुति दर्शकले खुलेर प्रशंसा गरे। प्रिमियरमा सिक्किम लोकसभा डेपुटी स्पिकर राजकुमारी थापा प्रमुख अतिथिको रूपमा सहभागी भइन्।
त्यस्तै सिक्किम प्रहरी प्रमुख अक्षय सच्देवा, सांसद इन्द्रहाङ सुब्बा, मुख्यमन्त्रीका सल्लाहकार, सरकारका प्रवक्ता, सचिव लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। नेपाली फिल्मका निर्देशक साम्तेन भुटिया, निर्माता सुस्मा गुरुङ, अभिनेता उत्तम प्रधान लगायत उपस्थित थिए। सिक्किमको सफल प्रिमियरपछि ‘जार’ को दोस्रो प्रिमियर यही मे ३ मा सिलिगुडी (सिलिगुरी) मा हुनेछ। यसअघि दार्जिलिङमा प्रचारात्मक कार्यक्रम सम्पन्न गरिसकेको टिम त्यसपछि सिलिगुडी पुग्नेछ। सरवानन इलावार्सुको छायांकन, अखिलेश राईको सम्पादन रहेको फिल्ममा कार्यकारी निर्माता त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योति क्षेत्री र पेमा रिन्जिङ लेप्चा रहेका छन्। ‘जार’ को निर्माण होप रिल्स, एलए सेभेन सर्ट्स, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा गरिएको हो।