काठमाडौं । पहिलोपटक आइफोन प्रयोग गरेर खिचिएको फिल्म A Place Under the Sun निर्देशन गरेर चर्चा कमाएका युवा निर्देशक जेसन लोप्चनले विश्वप्रसिद्ध बुसान एसियन फिल्म स्कूल (AFiS) को स्कर्लरसिपमा स्थान पाएका छन्।
बुसान, दक्षिण कोरियामा अवस्थित Asian Film School (AFiS) एसिया तथा विश्वभरका युवा फिल्मकर्मीहरूको लागि उच्च स्तरको फिल्मनिर्माण तालिम दिने प्रतिष्ठित संस्था हो। यो स्कूलले हरेक वर्ष एसिया क्षेत्रका सीमित १८ जना युवा प्रतिभाहरुलाई मात्रै पूर्ण छात्रवृत्तिमा सहभागी गराउँछ, जहाँ उनीहरूलाई अन्तर्राष्ट्रिय स्तरका निर्माता, निर्देशक तथा फिल्म विज्ञहरूसँग काम गर्ने अवसर दिइन्छ।
यस वर्ष नेपालबाट निर्देशक जेसन लोप्चन छनोट भएका छन्। उनले आगामी ८ महिना कोरियाको बुसानमा रहेर आफ्नो दोस्रो फिल्मको स्क्रिप्ट लेखन, प्रि-प्रोडक्सन तथा तयारीका कामहरू गर्नेछन्। उक्त फिल्मको सम्पूर्ण प्रारम्भिक निर्माण प्रक्रिया बुसानमै हुनेछ भने छायांकन भने सन् २०२६ मा नेपालमै गरिनेछ।
निर्देशक लोप्चन भन्छन्, “यो मेरो लागि मात्र होइन, सम्पूर्ण नेपाली फिल्म क्षेत्रका लागि एक अवसर हो। बुसान फिल्म स्कूलमा सिक्ने अनुभव र अन्तर्राष्ट्रिय सहकार्यले मेरो आगामी फिल्मलाई अझ बलियो बनाउनेछ।”
जेसनको फिल्म A Place Under the Sun हाल MSM Video मा उपलब्ध छ।