कर्मामा सुशान्तको गीत राखियो र पिताम्बरमा दुर्गेशको गीत राखिने

काठमाडौं । चैत्र २९ गते देखि रिलिज हुन लागेका फिल्म पिताम्बर र कर्माले दुई लोकप्रिय गायकको गीत राख्ने भएका छन ।  

फिल्म कर्मा मा लोकप्रिय गायक सुशान्त केसीको ‘पागल पागल’ बोलको ओरिजिनल साउन्ड ट्र्याक (OST) समावेश गरिएको छ। यो गीत सुशान्तले नै लेखेका, संगीतबद्ध गरेका र गाएका छन्। यो फिल्ममार्फत उनले पहिलो पटक पाश्र्व गायन (प्लेब्याक सिंगिङ) गर्न लागेका हुन्। गीतको भिडियो समेत तयार भइसकेको छ र केही दिनमै सार्वजनिक हुने बताइएको छ।

निर्देशक सौरभ चौधरीको विशेष अनुरोधमा सुशान्तले फिल्मका लागि यो गीत तयार गरेका हुन्। तर, यो गीत कर्मा को ओटीटी अधिकार लिएको कम्पनी ओएसआर डिजिटल मार्फत सार्वजनिक हुने वा सुशान्तकै युट्युब च्यानलबाट रिलिज हुने भन्ने विषय टुंगो लाग्न बाँकी छ।

सुशान्त केसी हालका सबैभन्दा लोकप्रिय नेपाली गायकहरूमध्ये एक हुन्। उनका बार्दली, झ्यालबाट, पर्ख न, सारंगी जस्ता गीतहरू अत्यधिक रुचाइएका छन्। विशेष गरी, बार्दली गीत युट्युबको ग्लोबल ट्रेन्डिङमा समेत परेको थियो। यो गीत पहिले एक्टर टेकवान फिल्ममा राख्ने योजना थियो, तर फिल्मको रिलिज ढिलाइ भएपछि सुशान्तले आफैं सार्वजनिक गरेका थिए। अहिले यो गीत वर्षकै सुपरहिट गीतहरूमध्ये एक बनेको छ। फिल्म कर्मा मा विपिन कार्की र उपासना सिंह ठकुरी मुख्य भूमिकामा छन्।

त्यसैगरी, फिल्म पिताम्बर ले चर्चित गायक दुर्गेश थापाको गीत समावेश गर्ने तयारी गरिरहेको छ। निर्माण पक्षसँग सम्झौता भएमा दुर्गेशले फिल्मका लागि विशेष गीत गाउनेछन्। हालै सार्वजनिक भएको ‘दुश्मन हेरेरको हेरै’ गीतपछि दुर्गेश व्यस्त देखिएका छन्। यसअघि उनको बीच्च बीच्चमा बोलको गीत छ माया छपक्कै फिल्ममा समावेश गरिएको थियो भने, हस्व दीर्घ मा पनि उनको गीत राखिएको थियो।

कृषा चौलागाईं निर्देशित पिताम्बर टिमले दुर्गेशको गीतलाई प्रचारात्मक (प्रोमोशनल) रूपमा अघि सार्ने तयारी गरिरहेको छ भने कर्मा टिमले सुशान्तको गीतलाई फिल्मकै मुख्य साउन्डट्र्याकको रूपमा प्रयोग गर्न लागेको हो। दुवै फिल्मका निर्देशकहरूले प्रचारलाई प्रभावकारी बनाउन चर्चित गायकहरूको गीत समावेश गरेका हुन्।

Leave a Reply