काठमाडौं । चलचित्र बिकास बोर्ड अन्र्तगत रहेको चलचित्रकर्मी कल्याणकारी कोषले पहिलो पटक बाढी प्रभावित चलचित्रकर्मीहरूलाई आर्थिक सहयोग प्रदान गरेको छ। बोर्डले ७ जना चलचित्रकर्मीलाई प्रति व्यक्ति रु. ४५,००० का दरले कुल रु. ३ लाख १५ हजार वितरण गरेको जनाएको हो ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी र चलचित्रकर्मी कल्याणकारी कोषकी अध्यक्ष बसुन्धरा भुसालले राहत रकम हस्तान्तरण गरेका हुन्। विगतमा गम्भीर रोगी तथा आर्थिक रूपमा कमजोर चलचित्रकर्मीहरूलाई मात्र सहयोग गर्दै आएको कोषले यसपटक प्राकृतिक प्रकोपबाट प्रभावित चलचित्रकर्मीहरूलाई समेत सहयोग गर्ने निर्णय गरेको हो।
यस योजनाअन्तर्गत नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र प्राविधिक संघ, र नेपाल चलचित्र द्वन्द्व कलाकार संघका सदस्यहरू यादव सिटौला, शिवप्रसाद चोलागाईं, सन्तु तामाङ, कुल प्रसाद हुमागाईं, गोकुल हुमागाईं, ज्ञान बहादुर तामाङ, र फणिन्द्र बहादुर विक लाई राहत प्रदान गरिएको छ।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी ले चलचित्रकर्मीहरूको हितका लागि बोर्ड सधैं प्रतिबद्ध रहेको बताउँदै भने, “प्राकृतिक विपत्तिमा परेका चलचित्रकर्मीहरूलाई सहयोग गर्नु हाम्रो दायित्व हो।”
त्यस्तै, चलचित्रकर्मी कल्याणकारी कोषकी अध्यक्ष बसुन्धरा भुसाल ले राहत वितरणलाई निरन्तरता दिने प्रतिबद्धता जनाउँदै भनिन्, “चलचित्र क्षेत्रका श्रमिकहरूको सुरक्षाका लागि कोषले आफ्नो जिम्मेवारी पूरा गर्दै जानेछ।”