काठमाण्डौँ । हाल प्रर्दशनरत फिल्म होस्टेल -३ ले दुई दिनमा करिब १ करोडको हाराहारीमा व्यापार गरेर आफ्नो ब्रान्डको ईज्जत जोगाएको छ ।
फिल्मले व्यापारमा मात्र हैन मेकिङमा समेत अघिल्ला दुई सिरिज होस्टेल र होस्टेल रिर्टन्स भन्दा राम्रो समीक्षा पाउन सफल भएको देखिन्छ । अधिकाँश मिडिया र समीक्षकहरुले समेत फिल्मको मेकिङ, प्रेजेन्टेशन र नव कलाकारहरुको कामको तारिफ गरेका छन । दर्शक दिर्घाबाट पनि त्यस्तै रेस्पोन्स आएको छ ।
पहिलो दिन औसत ओपनिङ गरेको फिल्मले हिजो शनिबार भने निकै राम्रो व्यापार गर्यो । फिल्मले ८६ लाख माथिको ग्रस कारोबार गरिसकेको रिपोर्ट न्यूज फिल्मीले निकालेको छ । होस्टेल ३ ले दुई दिनमा गरेको यो व्यापार गत फाल्गुन १४ गते प्रर्दशनमा आएका तीन फिल्म मध्ये फेरि रेशम फिलिली र मायावीको भन्दा माथि हो । लाज शरणमको व्यापार चाँहि सवै भन्दा माथि छ ।
नेपालमा केही सिनेमा हलमा बक्स अफिस प्रणाली अझै जडान छैन । सिस्टम जडान भएका हलले पनि कछुवाको गतिमा अपडेट गराउँने गर्दछन तसर्थ होस्टेलले गरेको ८६ लाख कलेक्सनमा केही रकम अझै बढी आउँने देखिएको हुँदा फिल्मले दुई दिनमा एक करोडको हाराहारीमा व्यापार गरेको हो भनेर उल्लेख गरेका हौँ ।