सलोनले विश्वास गरेका दुई भाई जसले गर्दा रंगी बन्यो : नम्रताका लागि पनि ढोका खुल्यो

अनुप भट्टराई 

काठमाडौँ – अभिनेता सलोन बस्नेतले पहिलो पटक निर्माण गरेको फिल्म रंगी प्रदर्शनको अन्तिम तयारीमा छ। यही फाल्गुन २ गते (भ्यालेन्टाइन्स डे) बाट देशभरका हलहरूमा रिलिज हुन लागेको यो फिल्मको प्रि-बुकिङ समेत खुलिसकेको छ ।  

छोरी सान्वीको नामबाट प्रोडक्सन कम्पनी खोलेका सलोनले यो फिल्म मार्फत निर्माताको रूपमा नयाँ यात्रा सुरु गर्दैछन । फिल्मको कथा जति अनुकरणीय छ यसको निर्माण यात्रा पनि  त्यति नै प्रेरणादायी छ । 

प्रेरणादायी किन भने लामो समय देखि नेपाली फिल्म नगरीमा  सहायक निर्देशक भई काम गरिरहेका दुई उम्दा निर्देशक सुरेश न्यौपाने र सुमन गजमेरको करिअरका लागि कोशेढुंगा बनेर उनीहरुले देखेको फिचर फिल्म बनाउँने सपना पुरा गरिदिए सलोनले ।

यो फिल्म सुरेश र सुमनका लागि मात्र अवसरको ढोका बनेन स्वयम सलोनका लागि निर्माता बन्ने पहिलो माध्यम पनि बनिदियो । अर्को तर्फ पूर्व मिस नेपाल समेत रहेकी कमेडी दरबारकी होस्ट नम्रता श्रेष्ठलाई रजतपटमा हिरोइन बनाउँने पहिलो फिल्मका रुपमा पनि चिनाउँदैछ रंगीले । फिल्ममा सलोनको छोरी बनेर आयुषी ढकालले मुख्य भूमिका निर्वाह गरेकी छिन । 

रंगीको निर्माण सुरेश न्यौपानेको कन्सेप्टबाट सुरु भयो। एक दिन चिया खाने बहानामा सुरेशले आफ्नो आइडिया सलोनलाई सुनाए, र सलोनले पनि तुरुन्तै यसमा रुचि देखाउँदै प्रोजेक्टमा सहमति जनाए। त्यसपछि उनीहरूले अर्को सहायक निर्देशक सुमन गजमेरलाई टिममा समावेश गरे। तीनजना मिलेर स्क्रिप्ट तयार गरे, जुन अब फिल्म बनेर प्रदर्शनको तयारीमा छ। फिल्मबाट सुरेश निर्देशकको नयाँ परिचय सहित परिचित हुँदैछन भने सुमन स्क्रिप्ट राइटरका रुपमा पनि चिनिदैछन । 

सुरेश न्यौपाने दर्जनौँ हिट फिल्मका सहायक निर्देशक हुन्। उनले अनमोल केसीको ‘कृ’ र ‘ड्रिम्स’, पल शाहको ‘म यस्तो गीत गाउँछु २’, सलिनमान बनियाको ‘ए मेरो हजुर २’ र ‘यात्रा’, दीपक-दीपाको ‘छक्का पञ्जा’, धीरज मगरको ‘बाबरी’, र आर्यन सिग्देलको ‘कायरा’ लगायतका फिल्ममा सहायक निर्देशनको अनुभव संगालेका छन्।

त्यसैगरी, सुमन गजमेरले हरिवंश आचार्यको ‘महाजात्रा’, ‘कठपुतली’, ‘बाबरी’ र यो फिल्ममा पनि मुख्य सहायक निर्देशकको रूपमा गरेका छन । 

 

 

 

Leave a Reply