युट्युबमा रिलिज भयो सेतो सूर्य : निर्देशकले मागे राजागंजका लागि भोलिन्टयर

काठमाण्डौँ ।  आठ वर्षअघि सार्वजनिक प्रर्दशनमा आएको  दीपक रौनियारको चर्चित फिल्म ‘सेतो सूर्य’ (White Sun)  युट्युबमा रिलिज भएको छ।

बाँसुरी फिल्म्सको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यो फिल्मले नेपाली समाजको युद्धपछिको अवस्थालाई चित्रण गरेको छ।

२०१६ मा भेनिस फिल्म फेस्टिभलमा प्रिमियर गर्दै फिल्मले अन्तर्राष्ट्रिय महोत्सवहरूको यात्रा सुरु गरेको थियो। त्यसपछि टोरन्टो इन्टरनेसनल फिल्म फेस्टिभल, बुसान फिल्म फेस्टिभलजस्ता प्रतिष्ठित महोत्सवमा देखाइएर फिल्मले व्यापक प्रशंसा पायो।

सिंगापुर इन्टरनेसनल फिल्म फेस्टिभलमा सर्वोत्कृष्ट पुरस्कार जितेको ‘सेतो सूर्य’ले फ्रिवर्ग इन्टरनेसनल फिल्म फेस्टिभलमा चार अवार्ड जितेको थियो। पाम स्प्रिङ्स फिल्म फेस्टिभल र भेनिस फिल्म फेस्टिभलमा समेत यसले अवार्ड जित्न सफल भयो। साथै, यो फिल्म गोल्डेन हर्ससहित अन्य अन्तर्राष्ट्रिय महोत्सवहरूमा मनोनयनमा परेको थियो। ९०औं ओस्कार अवार्डका लागि नेपालबाट सिफारिस गरिए पनि फिल्म मनोनयनमा भने परेन।

फिल्ममा दयाहाङ राई, रवीन्द्रसिंह बानियाँ, सुमी मल्ल, दीपक क्षेत्री, आशा मगराती, प्रमोद अग्रहरीलगायत कलाकारको अभिनय रहेको छ। सामाजिक र भावनात्मक सन्देश दिने यस फिल्मले समीक्षक र दर्शक दुवैको मन जितेको छ।

निर्देशक रौनियारको अर्को फिल्म ‘राजागंज–पूजा सर’ आगामी वैशाख १२ गते प्रदर्शनमा आउने तयारीमा छन्। निर्देशकले फिल्मको प्रचारका लागि भोलिन्टयरको माग गर्दै सामाजिक सञ्जालमा अपिल गरेका छन्। हेर्नुस फिल्म