पूर्णबहादुरको सारंगीको गीत राम्रो : तर प्रकाश सपूतले नै शेयर गरेनन

अनुप भट्टराई

काठमाण्डौँ । नन् डिस्क्लोजिङ एग्रिमेन्ट (NDA)  थियो वा मेमोरेन्डम अफ अन्डरस्टान्डिङ (MOU) । हामीलाई थाँहा हुने कुरा भएन । तर बजारमा चलेको हल्ला अनुसार पूर्ण बहादुरको सारंगी साइन गर्ने बेला गायक प्रकाश सपूत र सेभेन सिज सिनेमा बीच एउटा मौखिक सम्झौता भएको थियो रे ‘बसन्त रिलिज अघि पूर्ण बहादुरको सारंगी रिलिज नगर्ने भनेर ।’ 

तर जे-जे सहमति पहिले भएको थियो सोही अनुसार नपाएपछि गायक प्रकाश सपूत पूर्ण बहादुरको सारंगी टिमसँग रिसाएका छन रे  । उनी रिसाई रहदा नत उनले हाल सम्म फिल्मको टिजर शेयर गरे नत अरुनै प्रचार प्रसारका सामग्री । हिजो मात्र पूर्ण बहादुरको सारंगीको काँधेकुरी नामक गीत रिलिज भएको थियो तर उक्त गीत रिलिजको २४ घण्टा वितिसक्दा समेत समेत प्रकाश सपूतको फेसबुकको टाइमलाईनमा यो गीत पनि शेयर भएको देखिदैन ।

पूर्णबहादुरको सारंगीको छायाँकन सकिए लगत्तै एक अन्तिम पोष्ट शेयर गरेका प्रकाशले त्यस अलावा उक्त फिल्मको केही पनि सामग्री शेयर गरेका छैनन । बरु प्रकाशले यो बीचमा हरिबंश आचार्यसँग खेल्न लागेको नयाँ फिल्म हरिबहादुरको जुत्ता, सामसङ फोनको विज्ञापन, बसन्तको र्फष्टलुक पोष्टर , नेपाल प्रहरीको गीत, साम्बालाको पोष्टर सहित शुभकामना , ग्लोबल ट्रेन्डिङमा आएको कश्मीरे पछ्यौरीको टिमलाई बधाई दिदै गीत समेत शेयर गरेका छन ।

प्रकाश यतिखेर गृह जिल्ला बागलुङमा आफ्नै प्रोजेक्ट बसन्त फिल्मको छायाँकनमा व्यस्त छन भने यता पूर्ण बहादुरको सारंगी यूनिट कार्तिक १५ गते देखि जसरी भए पनि फिल्म रिलिज गरि छाड्नै भन्दै फिल्मको कन्टेन्टहरु धमाधम निकाल्न व्यस्त छ ।

पोष्टर र टिजरबाट निकै राम्रो प्रतिक्रिया पाएको उक्त टिमले निकालेको पहिलो गीत काँधेकुरी बाट राम्रो प्रसंसा पाईरहेको छ । अडियो सुन्दा ईमोश्नल छ । छोराको सफलतामा बाबुले बुनेका सपनाका शब्दहरु गीतमा सुन्न सकिन्छ ।

लिरिक्स, म्यूजिक, भोकल र ऐरेन्ज एउटै व्यक्ति प्रशान्त शिवाकोटीले गरेका छन । चार विद्यामै एउटै व्यक्तिको यो काम साच्चिकै प्रसंसनीय छ । मिठा -मिठा शब्दहरु भएर होला अडियो सुन्दा यो गीत हल्का छोटो भएको महसुश चाँहि भईदिएको छ हैन भने अडियो पक्ष सुन्दर छ ।

बरु दृश्यमा बिजय बराललाई बुढो बनाउँदाको मेकअपमा अझै मिहिनेत गरेको भए राम्रो हुने थियो । गाईने बनेका बिजय बराल पर्फेक्ट देखिएका छन तर क्लोज सर्टमा ज्यादा ह्वाईटनर यूज भएको देखिन्छ । यो पक्षमा क्यामेरापर्सनले उत्तिबेलै ध्यान दिनु पर्ने थियो भने पोष्ट प्रोडक्सनमा कलरिष्टले अझै मिहिनेत गरिदिएको भए सुनमा सुगन्ध भने जस्तै हुने थियो ।

किन कि म यहाँ एउटा कुरा सम्झाउँन चाहन्छु । आज भन्दा पैतिस बर्ष अघि २०४६ सालको जन आन्दोलन ताका नेपाल टेलिभिजनका लागि मह जोडीले बनाएको टेलिसिरियल १५ गतेमा बैकुण्ठ नेपाली पात्र बनेर खेलेका हरिबंश आचार्यका पिता निलकण्ठ नेपाली उर्फ मदनकृष्ण श्रेष्ठलाई पनि यसरी नै बुढो बनाईएको थियो । जसलाई त्यतिबेलाको प्रविधिको दृष्टीकोणले हेर्दा सुहाएको मानिन्छ ।

तर समय यति धेरै एडभान्स भईसक्यो कि नेपालमा नक्कली दार्ही र जुंगालाई समेत फिल्ममेकरहरुले राम्रो फिनिसिङ दिन सकेका छैनन । हामीले यहाँ सम्झाएको मात्र हो बिजय बरालको हकमा । मेकअप टिमले अझै ध्यान दिएको भए बेष्ट हुने थियो भन्ने तर्क मात्र हो । रावयणका पल शाह लाई जस्तो फिटिक्कै नसुहाएको भन्ने चाँहि हैन । हुँदै हैन । विल्कुल हैन ।

सार्वजनिक नयाँ गीतको दृश्यमा निर्देशक सरोज पौडेलले फिल्मका अन्य मोन्टाज सर्टहरु अझै धेरै राखेको भए यो गीत हेर्दा भिजुअल दृष्टीकोणबाट पनि थप सुन्दर बन्ने थियो । खैर केही छैन यत्तिको गीत राम्रो निकाल्ने प्रयाश भएको देखिन्छ । हेर्नुहोला ।