यसरी नै – राजेन्द्र शलभको कविता

यसरी नै
– राजेन्द्र शलभ

हो यसरी नै
विस्तारै मर्दै जान्छन् –सपनाहरु
र मान्छे मुर्दा बन्छ ।

हो यसरी नै
परिवारको जिम्मेवारीले थिचेपछि
ऊ आफ्ना रहरहरु बिर्सिन्छ विर्सिन्छ –
उसले अहिले सम्म हिडेको बाटो
आफ्ना अठोठ र सङकल्पहरु
र घुँडा टेक्छ – परिस्थिति सामु ।

हो यसरी नै
शब्दहरुलाई धुजाधुजा पारेर अक्षरहरुलाई डस्टबीनमा फाल्छ
आफना सपनाहरुको हत्या गरेर
ऊ छताछुल्ल पोखिन्छ – सेतो क्यानभासमा कालो टाटो बनेर
अनि, आफैसँग आँखा जुधाउन नसकेर घोप्टी–मुन्टो लाएर बस्छ ।

हो यसरी नै
बाध्यताका जन्जीरहरुलाई पाउजु सम्झेर लाउँछ विभेददका विरुद्ध लड्न छोडेर
ऊ आफ्नै भेदहरुमा अलल्मलिन्छ
कलम उसलाई नै टोक्न आएजस्तो
डराउन थाल्छ थाल्छ ऊ कलमसँग
र आफ्नै आवाजलाई थुनेर कतै भित्र कैदखानामा
ऊ मौन बस्न थाल्छ ।

हो यसरी नै
आफ्नो मनलाई मारेर अरुलाई महत्व दिन थालेपछि
मान्छे मुर्दा बन्छ
जिउँदो मुर्दा ।

२०८० असार १०