‘लोकदोहोरी स्टार’ सिजन २ को देशव्यापी अडिसन सुरु हुँदै

काठमाडौं । टेलिभिजन रियालिटी शो ‘लोकदोहोरी स्टार’ को दोस्रो संस्करण सुरु हुने भएको छ। आयोजक एभेन्टोज स्टुडियोले देशव्यापी अडिसनमार्फत नयाँ प्रतिभा छनोट गर्ने तयारी गरेको जनाएको छ।

आयोजकका अनुसार शोको अडिसन सातै प्रदेशमा सञ्चालन हुनेछ। दोस्रो संस्करणलाई अझ व्यवस्थित, भव्य र प्रतिस्पर्धात्मक बनाउने लक्ष्य राखिएको छ।

शोका निर्णायकमा गायिका कोमल वली तथा गायकद्वय राजु परियार र चन्द्र शर्मा रहनेछन्।

अडिसन कार्यक्रम असार २७ गते इटहरीबाट सुरु हुनेछ। त्यसपछि असार २९ गते चितवन, असार ३१ गते बुटवल, साउन १ गते नेपालगञ्ज, साउन ४ गते पोखरा तथा साउन ८ र ९ गते काठमाडौंमा अडिसन सञ्चालन गरिने आयोजकले जनाएको छ।

प्रतियोगितामा सहभागी हुन कम्तीमा १६ वर्ष उमेर पुगेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन्। नेपाली लोकसङ्गीतप्रति रुचि र समर्पण भएका, परम्परागत लोकभाका तथा शैलीको राम्रो ज्ञान भएका, स्पष्ट उच्चारणसहित भावपूर्ण प्रस्तुति दिन सक्ने तथा प्रश्न–उत्तर शैलीमा तत्काल दोहोरी सिर्जना गरेर प्रस्तुत गर्न सक्ने प्रतिभालाई प्राथमिकता दिइने आयोजकको भनाइ छ।

‘लोकदोहोरी स्टार’ सिजन २ एपीवान एचडी टेलिभिजनबाट प्रसारण हुनेछ।

Leave a Reply